काठमाडौं, भदौ १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको उपाय सुझाउन गठन गरिएको कार्यदललाई सचिवालयले अनुमोदन गरेको छ।
बालुवाटारमा आज बसेको बैठकले कार्यदललाई बैधानिकता दिदै चाडोभन्दा चाडो निकासका विकल्पसहितको प्रतिवेदन दिन निर्देशन दिएको हो।
उक्त प्रतिवेदनपछि पार्टीको विवाद कसरी हल गर्ने भन्ने विषयमा ठोस निर्णय हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आजको बैठक कार्यदलको अनुमोदनसँगै केहि समसामयिक विषयमा छलफल भएको उनले बताए।
पार्टीभित्रको विवाद समाधानको उपाय सुझाउन शुक्रबार ६ सदस्यीय कार्यदल अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेका थिए। पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन्।
उक्त कार्यदलको वैधानिकताप्रति वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले प्रश्न उठाएका थिए।
बैधानिकतामाथि नै प्रश्न उठेपछि आज बसेको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको हो। कार्यदलले शनिबारदेखि नै काम थालिसकेको एक नेताले जानकारी दिए।


























