चितवन । माडी नगरपालिका बाहेकका सबै स्थानीय तहमा जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरेको छ। शुक्रबार राति १२ बजेबाट लागू हुने गरी भरतपुर महानगरपालिकामा मात्रै निषेधाज्ञा जारी गरेकोमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी माडीबाहेकका अन्य स्थानीय तहमा पनि निषेधाज्ञा जारी गरिएको हो। अब निषेधाज्ञा जारी गरिएका सबै क्षेत्रमा अत्यावश्यक सामान खरिद गर्नको लागि बिहान ५–८ र साँझ ५–८ बजेको समयबाहेक बाहिर निस्कन र हिँडडुल गर्न नपाइने भएको छ। साथै निषेधाज्ञा अवधिभर कलकारखाना, उद्योग व्यवसाय सबै भन्द रहनेछन्। सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक सबैखालका सवारीसाधन पनि पूर्णरूपमा ठप्प हुनेछन्।
जिल्लाको इच्छाकामना गाउँपालिकासहित कालिका, राप्ती, खैरहनी र रत्ननगरले आइतबार बैठक बसेर कोरोना संक्रमण रोकथामको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। सबै स्थानीय तहले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आइतबार दिउँसो सूचना जारी गर्दै माडीबाहेकका सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको बताएका हुन्। हाललाई भदौ ५ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए। ‘भरतपुर महानगरपालिकाभित्रको निषेधाज्ञा यथावत रहने गरी माडीबाहेकका अन्य स्थानीय तहमा पनि निषेधाज्ञा जारी गरिएको छ,’ जारी सूचनामा उल्लेख गरिएको छ।


























