चितवन, साउन ३२ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि आजबाट आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ।
हालसम्म अस्पतालका १० जना नर्सिङ कर्मचारी र सातजना बिरामीमा कोरोना सङ्क्रमण देखिएको छ। अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिए।
अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको कोभिड–१९ परीक्षण गर्नुपर्ने र अस्पताल समेत निर्मलिकरण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको उनले बताए।
अस्पतालले प्रदान गर्ने अत्यावश्यक सेवा सम्बन्धित विभागका बहिरङ्ग सेवाबाट प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ। दैनिक यस अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामी आउने गर्दछन्। विसं २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपालभर र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउँछन्। रासस

























