चितवन । चितवन मेडिकल कलेजले कोरोनाको पीसीआर परीक्षण गर्ने अनुमति पाएकाे छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि कलेजलाई प्रयोगशाला सञ्चालनको लागि अनुमति दिएको हो। कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार चितवन मेडिकल कलेजले आउँदाे मङ्गलबारबाट प्रयोगशाला सञ्चालनमा ल्याइने तयारी भइरहेकाे छ।
जिल्लामा हालसम्म निजी खर्चमा पीसीआर परीक्षण गर्ने प्रयोगशाला छैन। भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ। डा न्यौपानेका अनुसार नमूना परीक्षणका लागि सेवाग्राहीबाट छ हजार ५० रुपैयाँ लिइनेछ। कलेजले भित्र्याइएको उच्चस्तरको पीसीआर मेसिनले ६ घण्टामा ४०० वटा नमूना परीक्षण गर्न सकिने अस्पतालले जनाएकाे छ।
कलेजमा पीसीआर परीक्षण गर्न सक्ने सातजना प्राविधिक छन्। दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० वटा नमुनाकाे परीक्षण गर्न सकिने डा न्याैपानेले बताए। प्रयोगशाला निर्माणमा पाँच करोड ४० लाख रुपैयाँ खर्च भइसकेको उनले बताए। भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिका बाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले पनि अवसर पाएका थिएनन्। निजीस्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै बिरामीले पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन्।
जिल्लामा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ। भरतपुर अस्पतालमा सङ्कलन भएको नमूनाको सङ्ख्या थपिँदैं गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता छ। निजी क्षेत्रबाट प्रयोगशाला सञ्चालनमा आएसँगै सरकारी प्रयोगशालामा परीक्षणको चाप केही घट्ने भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले बताइन्। – रासस


























