हेटौंडा, साउन ३२ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ। जिल्लाको पूर्व-पश्चिम राजमार्गको मनहरिसम्म र हेटौडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा कोभिड-१९ संक्रमण फैलिएको र त्यसलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयले यसअघि साउन २६ गते राति १२ बजेदेखि साउन ३२ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको भए पनि जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले पुनः निषेधाज्ञा जारी गर्नु परेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रजिअ दीपकराज नेपालले बताए।
जिल्ला प्रशासन कार्यालयमा आज बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो। बैठकले निषेधाज्ञा जारी गरिएअनुसार बाहेक जिल्लामा दैनिक सभा, सम्मेलन, गोष्ठी, धार्मिक पर्वलगायत अन्य भिडभाड हुने कार्यक्रम नगर्नसमेत आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए।
उनका अनुसार निषेधाज्ञा अवधिभर बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म सर्वसाधारणलाई आवश्यक खाद्यान्न, इन्धन, औषधिलगायत अतिआवश्यक वस्तु खरिद गर्न समय निर्धारण गरिएको छ भने सर्वसाधारणले दैनिक प्रयोग गर्दै आएको सार्वजनिक यातायात, निजी यातायात, र मोरटसाइकललाई निषेधाज्ञा जारी भएअनुसार सञ्चालनमा कडा रोक लगाइएको छ।
सो बैठकले मकवानपुरको मनहरि गाउँपालिका क्षेत्र पूर्व(पश्चिम महेन्द्र राजमार्गलगायत हेटौँडा उपमहानगरपालिका क्षेत्रका १ देखि १९ वटै वडासम्ममा निषेधाज्ञा जारी गरेकाले आदेश उल्लंघन गरेको पाएमा कानूनी कारबाही अघि बढाइने प्रजिअ नेपालले जानकारी दिए। रासस


























