चितवन । शनिबार परीक्षण भएका नमुनामध्ये चितवनका मात्रै २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि समग्र चितवन जिल्लामा एक खालको तरंग पैदा भएको छ। शनिबार राति पूर्वी चितवनका ६ जनामा थप संक्रमण देखिएपछि रत्ननगर, खैरहनी र राप्ती नगरपालिकासहित सुरक्षा निकायसँगको छलफलले पनि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ।
आइतबार रातिदेखि नै लागू हुने गरी एक हप्ताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए। पूर्वी चितवन क्षेत्रका तीनवटा स्थानीय तहका प्रमुखहरूबीचको बैठकबाट भएको निर्णय जिल्ला प्रशासन कार्यालयमा पठाउने उनले बताए। निषेधाज्ञा जारी भएमा यस क्षेत्रमा चल्ने यातायातका साधन, उद्याेग कलकारखाना तथा व्यापार व्यवसाय सबै बन्द हुनेछन्। शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी भदौ ५ गतेसम्मको लागि भरतपुर महानगरपालिकाले निषेधाज्ञा जारी गरेको छ।


























