काठमाडाैं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरीमा संक्रमण बढ्दै गएको छ। शनिबारसम्म एकजना प्रहरी नायव महानिरीक्षक (डिआइजी)सहित ५५१ जनामा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी अस्पताल महाराजगन्जमा चिकित्सकका रूपमा कार्यरत डिआइजीमा संक्रमण देखिएको हो। अहिलेसम्म देखिएका संक्रमितमध्ये २१३ जना निको भएका छन्। अन्य सबै संक्रमित प्रहरीको अवस्था पनि सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए।
सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका १३६ जनामा संक्रमण देखिएको छ। प्रहरी प्रधान कार्यालयका संक्रमित प्रहरी डिस्चार्ज हुने क्रम पनि बढेको एसएसपी कडायतले बताए। प्रहरीमा संक्रमण बढेपछि गणभित्रै आइसोलेसन वार्ड बनाइएको छ। महाराजगन्जस्थित प्रहरी अस्पतालसँगै रहेको प्रहरीको २ नम्बर गणमा १५० वार्डको आइसोलेसन बनाइएको छ, जहाँ ४० प्रहरी कार्यरत छन्। सामाखुसीस्थित विपत् व्यवस्थापन गणलाई पनि सारेर आइसोलेसन बनाउनेबारे छलफल भइरहेको छ।
सरकारले प्रहरी अस्पताललाई कोभिड– १९ उपचारका लागि लेभल–२ स्तरको अस्पताल बनाउने निर्णय गरिसकेको छ, जहाँ अहिले १० वटा आइसियू रहेकोमा १० वटा थप्ने र भेन्टिलेटरसमेत राख्ने तयारी भए पनि बजेट प्राप्त नभएको समाचार नयाँ पत्रिकादैनिकले छापेकाे छ।


























