काठमाडौँ । कारागार का कैदीबन्दीमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ। शनिबारसम्ममा पाँचवटा कारागारका ४८ जना कैदीबन्दीमा संक्रमण देखिएको छ। केन्द्रीय कारागार, सुन्धारासहित क्षेत्रीय कारागार झुम्का, जिल्ला कारागार पर्सा, बाँके र सिराहामा रहेका कैदीबन्दीमा संक्रमण देखिएको हो। सबैभन्दा धेरै पर्सामा ३२ जनालाई संक्रमण पुष्टि भएको छ, जहाँ एक हजार दुईसय कैदीबन्दी छन्। संक्रमण देखिएका पर्सा कारागारका जेलर भने शनिबार डिस्चार्ज भएका छन्।
त्यस्तै बाँकेमा सात र सिराहामा चार कैदीबन्दीमा संक्रमण देखिएको छ। शनिबार सुनसरीको झुम्कास्थित कारागारका चारजनामा संक्रमण देखिएको छ। शनिबार नै केन्द्रीय कारागारका एक कैदीमा पनि संक्रमण देखिएको हो। उनलाई हालै उपचारका लागि सिन्धुलीबाट ल्याइएको थियो। ‘केन्द्रीय कारागारको अस्पतालमा उपचारका लागि ल्याइएको थियो, कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ,’ कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले भने, ‘उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको छ।’
संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु भएदेखि नै कारागारमा भेटघाट बन्द गरिएको छ। तर, कैदीबन्दीलाई अस्पताल र अदालत लगिरहनुपर्ने भएकाले संक्रमणको जोखिम भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक पोख्रेलको भनाइ छ। नयाँ कैदीबन्दीलाई जेलभित्रै क्वारेन्टाइनमा राख्ने र परीक्षण गरेर मात्र अरूसँग राख्ने गरिएको छ। संक्रमण सुरु भएयता जेल सरुवा पनि रोकिएको छ। संक्रमणको जोखिम भएपछि कैदीहरूलाई ब्लकमा राखिएको र एक ब्लकबाट अर्कोमा जान रोक लगाइएको विभागले जनाएको छ।
अहिले देशभरका जेलमा करिब २३ हजार कैदीबन्दी छन्। जसमध्ये ४१ प्रतिशत मुद्दा फैसला भइनसकेका बन्दीहरू हुन्। सबैभन्दा धेरै सुन्धारास्थित केन्द्रीय कारागारमा तीन हजार एक सय कैदीबन्दी छन्। देशभरिका कारागारमा क्षमताभन्दा करिब दोब्बर कैदीबन्दी भएकाले पनि कोचिएर बस्नुपरेकाले संक्रमण फैलने जोखिम बढेको हो।


























