नयाँदिल्ली, साउन ३१ । आज अगस्ट १५ अर्थात ब्रिटिश साम्राज्यबाट भारत स्वतन्त्र भएको दिन।
ब्रिटिश उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्ष अगस्ट १५ मा विशेष कार्यक्रम गर्दै आइए पनि यस वर्ष भने कोरोना महामारीका कारण भौतिक दूरी कायम गरेर कार्यक्रम राखिएको थियो।
भारतको लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले सेनाको प्रशंसा गरेका छन्।
मोदीले आफूहरुका लागि भारतको सम्प्रभूताको सम्मान सर्वोच्च रहेको र त्यसका लागि सुरक्षाकर्मीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए।
सेनाले खेलेको भूमिका स्मरण गर्दै उनले भने, ‘देशका लागि हाम्रा वीर जवानहरुले के गर्न सक्छन् भन्ने कुरा विश्वले लद्दाखमा देखिसक्यो।’
लद्दाखमा भारत र चीनबीच पछिल्लो समय सीमालाई लिएर विवाद भइरहेको छ। उनले भनेका छन्, ‘हाम्रा छिमेकी भौगोलिक सीमा मिल्नेहरु मात्रै होइनन्, जोसँग मन मिल्छ उनीहरु पनि छिमेकी हुन्।’
सम्बोधनअघि उनी लालकिल्लास्थित इन्डिया गेटमा पुग्दा भारतका रक्षामन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए। उनलाई लालकिल्लामा आयोजित एक समारोहमा भारतीय उच्च अधिकारीहरुले स्वागत गरेका थिए।
त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतको झण्डाको झण्डोत्तोलन गरेका थिए। उनलाई त्यस क्रममा भारतीय सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो। उनलाई सेनाले सम्मानस्वरुप गार्ड अफ अनर दिएपछि डायसमा पुगेर बसेका थिए। त्यस क्रममा भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रस्तुत गरिने सम्मान स्वरुपका विविध कार्यक्रमहरु हेरेका थिए।
भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो। भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो। एजेन्सी


























