विनाेद अनुज,
चितवन । भरतपुरमा पहिलाेपटक निजी अस्पतालले पनि काेराेना भाइरस संक्रमितकाे उपचार शुरु गरेकाे छ। साउन २७ गते अस्पताल भर्ना भएका रत्ननग ९ का ६१ वर्षका पुरुषमा शुक्रबार संक्रमण पुष्टि भए पनि पुष्पाञ्जली अस्पताल आफैँले उपचार शुरु गरेकाे जनाएकाे छ। भाइरल निमाेनियाबाट ग्रस्त ती पुरुषलाई आइसियूमा राखेर उपचार गराइरहेकाे अस्पतालद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ।
बिरामीकाे अवस्था स्थिर रहे पनि उपचार जारी रहेकाे अस्पतालले जनाएकाे छ। चितवनमा काेराेना भाइरस संक्रमितकाे उपचार गर्न सरकारी मातहतमा सञ्चालित भरतपुर अस्पतालले मात्रै जिम्मा लिँदै आए पनि स्वास्थ्य मन्त्रालयकाे निर्देशनअनुसार निजी अस्पतालले पनि उपचार शुरु गरेकाे हाे। यसअघि निजी अस्पतालमा उपचार गराइरहेका बिरामीमा काेराेना संक्रमण देखिएमा जस्ताेसुकै अवस्थाका बिरामी भए पनि सरकारी अस्पतालमा रिफर गर्ने गरेकाे थियाे।
संक्रमितलाई आइसियूमा राखेर उपचार गराउनुपर्ने भएपछि पुष्पाञ्जली अस्पतालले आइसियू कक्ष सिल गरेर संक्रमितकाे उपचार गराइरहेकाे जनाएकाे छ। अन्य सेवा भने स्वास्थ्य सुरक्षा र सजगता अपनाउँदै सुचारु गरेकाे अस्पतालले जनाएकाे छ।


























