काठमाडौं, साउन २८ । नेपाल-भारतबीच आउँदो साता वार्ता हुने भएको छ।
भारत सरकारले नेपालमा गर्दै आएको सहयोगमा सञ्चालित विभिन्न परियोजनाको मूल्यांकन गर्नका लागि अर्को साता काठमाडौंमा दुई देशका अधिकारीबीच छलफल हुने भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत राज पौड्यालले जानकारी दिए।
“हो छलफल हुन लागेको हो। केही दिनभित्र हुन्छ।” उनले हामीसँग भनेका छन्, ‘यद्यपि पनि मिती भने तय हुन बाँकी छ।’
कोरोना भाइरसको महामारीका कारण उक्त बैठक भिडियो कन्फेरेन्स्मार्फत् हुने सम्भावना छ। औपचारिक रुपमा घोषणा गर्न बाँकी उक्त बैठक आगामी भदौ पहिलो साताभित्र हुने प्रवक्ता पौड्यालले जानकारी दिए।
उनका अनुसार भारत सरकारद्वारा सञ्चालित परियोजनाहरुको मूल्यांकनका सम्बन्धमा नेपाल र भारतबीच छलफल हुन लागेको हो।
बैठकबारे निर्णय भने नभएको उनको भनाइ छ। भारतको सहयोगमा सञ्चालित परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा संयुक्त समिति गठन गरिएको थियो।
समितिको बैठक यसअघि सन् २०१९ को जुलाईमा भएको थियो।


























