चितवन, साउन २६ । चिया नेपाली परिवेशमा जो कोहीका लागि परिचित पेयपदार्थ हो। ठाउँ, परिवेश र उमेर समूहले आ–आफ्ना रुचिका चिया पिउने गर्दछन्। यहाँ एक युवाले ३० थरीका चिया बिक्री गर्दै आएका छन्। स्वदेशमा केही गर्ने कि विदेश जाने ढुलमुलमा रहेका २६ वर्षीय फणीन्द्र न्यौपानेले आफ्नो होटलको अनुभव सँगाल्दै युवा पुस्तालाई लक्षित गरेर चियादानी नामक चियापसल सञ्चालनमा ल्याएकाछन्। भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोक नजीकै उनले मासिक रु १५ हजार भाडा तिर्नेगरी चियादानी सञ्चालनमा ल्याएका हुन्।
चिया पिउन पुग्ने जो कोही पनि त्यहाँको सजावट देखेर दङ्ग पर्छ। उनले भने, “फालिएका सामग्री प्रयोग गरेर मैले चियापसल शुरु गरेँ ।” पुराना टायरको टेबल र कुर्सी छन्। थोत्रो विक्रम ट्याम्पोमा काउन्टर र बसेर चिया खाने ठाउँ छ। सजावटसँगै आनन्दित पनि बनाइएको छ। उनले थपे, “झुलामा झुल्दै चिया पनि पिउन सक्नुहुन्छ।” पुराना सामानले सजाएपनि कोठा वातावरण अनुकूलित छ। सिलिङमा साइकलका पुराना रिङभित्र बत्ती बलिरहेको देख्न सकिन्छ।
सानो ठाउँमा चटक्क मिलेर तन्नेरीहरु चियामा रमाइरहेको देख्न पाइन्छ। न्यौपानेले भने, “म कहाँ ३० थरीका विभिन्न थरी चिया पाइन्छ।” धेरैको आकर्षण मट्का चियामा छ। माटाको तातोतातो भाँडामा चियाको छुट्टै आनन्द लिन युवासँगै वृद्धवृद्धा पनि आइपुग्छन्। मट्कासँगै स्पाइसी, एप्पल, मेरो चिया, अदुवालगायत चिया चियादानीमा पाइन्छ। न्यौपानेका अनुसार प्रतिकप रु १० को कालो चियादेखि ७० पर्ने मट्का वा स्ट्रबेरी चियासम्म त्यहाँ पाइन्छ।
न्यौपानेलाई भाइ सुवास र एकजना कर्मचारीले साथ दिइरहेका छन्। विदेशिने तर्खरमा लाग्नुभएका न्यौपानेलाई पोखरामा चलिरहेको चियादानीले ध्यान खिच्यो। सामाजिक सञ्जालमा तन्नेरीको समूहमा आवद्ध न्यौपानेले सरसापट र ऋण गरेर यही व्यवसाय थाले। उनले भने, “दैनिक १५० हाराहारी ग्राहक आउँछन्।” लकडाउनअघि पसल तयार गरेको भए पनि लकडाउनपछि मात्र खुलेको हो। दैनिक रु १० हजार हाराहारीको व्यापार भएको उनको भनाइ छ। सबै राम्रो भएको भन्दै उहाँले माटाका गिलास पाउन मुस्किल भएको बताए।
भरतपुर महानगरपालिका–१५ फूलबारीका न्यौपानेसँग यसअघि सेन्ट्रल पाम र मितेरी होटलको अनुभव छ। उनले भने, “फरक तरिकाले काम गर्न सक्यो भने स्वदेशमा नै केही हुँदोरहेछ। विदेश जानु पर्दैन।” कोरोना सङ्क्रमण सकिएपछि चियादानीलाई विस्तार गर्ने सोचसमेत आफूमा आएको उत्साहित हुँदै उनले सुनाए। रासस


























