काठमाडौं, साउन २६ । विदेशमा अलपत्र तथा समस्यामा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारले गएको ३२ असारदेखि शुरु गरेको उद्धार उडान आज सकिंदैछ। यो अवधिमा सरकारको अनुमतिमा दुई स्वदेशीसहित विभिन्न विदेशी वायुसेवाले गरेको उद्धार उडानमा ५८ देशका ४८ हजार ८३२ नेपाली स्वदेश फर्किएका छन्।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बाट स्वीकृत उडान तालिका अनुसार, वायुसेवा कम्पनीले चौथो चरणको उडान आज पूरा गर्दैछन्। सीसीएमसीले आजको लागि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी वायुसेवामा सिंगापुर र अष्ट्रेलियाको वायुसेवालाई उद्धार उडानको अनुमति दिएको छ। सो अनुसार आज साँझसम्म सरकारले दिएको सीमा र तोकिएको तालिका अनुसार उडान पूरा हुनेछ।
सरकारले १ भदौदेखि खुलाउने तयारी गरेको नियमित हवाई उडान कोभिड संक्रमण बढ्दै गएपछि अझै १५ दिन पर सार्ने भएको छ। यसका लागि सीसीएमसीले सरकारलाई प्रस्ताव गरिसकेको छ। उक्त प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ। आज बस्जे मन्त्रिपरिषद्को बैठकले १ भदौदेखि खुलाउने भनिएको लामो दूरीको सवारी साधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानबारे निर्णय गर्ने भएको छ।
नियमित उडानको समय १५ दिन सारिने भएपछि अब वायुसेवा कम्पनीलाई दिइने उद्धार उडान स्वीकृति हुने वा नियमित उडान नै कुर्नुपर्ने भन्नेबारे सरकारले दिने निर्णय नै पर्खनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार, निगमले ३२ असारदेखि २६ साउनसम्ममा ९५ उद्धार उडान गरेको छ। यो उडानबाट निगमले करीब १८ हजार ७८ जनालाई स्वदेश ल्याएको खड्काले जानकारी दिइन्।
अब हुने नियमित उडानका लागि निगमले २९ साउनदेखि जापानको नारिताको लागि भने टिकट बुकिङ खुला गर्ने भएको छ। सरकारले दिने नियमित उडानको तालिका अनुसार यात्रु उडान गर्न निगमले जापानको लागि बुकिङ खुला गर्न लागेको हो।
सीसीएमसीको तथ्यांक अनुसार, २६ साउनसम्ममा विदेशबाट उद्धार भएका नेपाली नागरिकमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स ९युएई० बाट भएको छ। युएईबाट १३ हजार ३९० जना नेपाली स्वदेश फर्किएका छन्।
कोभिडका कारण उद्धार उडान मार्फत स्वदेश फर्कने मुलुकमा युएईपछि साउदी अरबबाट ७ हजार ८१७ जना, मलेशियाबाट ७ हजार ४५० जना, कुवेतबाट ६ हजार ३२० जना र कताबार ४ हजार ८७३ जना छन्।
उद्धार उडान मार्फत स्वदेश फर्कने नेपालीमा सबैभन्दा कम सोमालियाबाट १ जना मात्रै छन्।


























