काठमाडौं, साउन २६ । लगानी बोर्डको सीईओमा नियुक्त सुशील भट्टको योग्यता नपुग्ने दाबी गर्दै उच्च अदालत पाटनमा रिट परेको छ। उक्त रिटविरुद्ध भोलि सुनुवाइ हुने भएको छ।
अधिवक्ता जयबहादुर भुजेलले भट्टको नियुक्ति बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन्। उच्च अदालत पाटनका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार रिटमा उक्त पदका लागि कानूनले तोकेको योग्यता भट्टमा नभएको दाबी गरिएको छ।
अधिवक्ता भुजेलले हिजो दिएको रिट अदालतले आज मात्रै दर्ता गरेको हो। रिटको पेसी भोलि नै तोकेर सुनुवाइ हुने प्रवक्ता रेग्मीले जानकारी दिए।
ठूला आयोजनामा वैदेशिक लगानी प्रवद्र्धन तथा सहजीकरण गर्न स्थापित बोर्डमा यसअघि नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारी सीईओ थिए। अधिकारी कार्यकाल सकिनुअघि नै गत चैतमा गभर्नर नियुक्त भएपछि बोर्डमा सीईओ पद रिक्त थियो।
लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा। युवराज खतिवडा संयोजकत्वको समितिले सुशील भट्ट, डा। सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो।


























