धनगढी, साउन २६ । लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको धनगढी जलमग्न भएको छ। धनगढीको मुख्य बजार क्षेत्र एलएन चोक, मिलन चोक, बिशालनगर, राष्ट्र बैंक पछाडि, उत्तरबेहडीलगायतका अधिकांश क्षेत्र जलमग्न भएका छन्।
त्यस्तै कैलालीको पूर्वी क्षेत्र भजनी, जोशीपुर, टिकापुर, लालबोझीलगायतका क्षेत्र भएर बग्ने नदीहरू कर्णाली, कान्द्रा, पथरैया, मोहना, खुटिया, शिवगंगामा जलस्तर निरन्तर बढीरहेको छ। नदीका तटीय क्षेत्रका स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्न कैलाली प्रशासनले स्थानीय तहहरूलाई अनुरोध गरेको छ।
गत साउन १४ गते आएको बाढीका कारण भजनी नगरपालिका ८ का तीन जनाले ज्यान गुमाएका थिए भने हजारौं हेक्टर जमिनमा लगाएको धानबाली कामै नलाग्ने भएको थियो।
यसैबीच, कैलालीको भजनीका बाढी पीडित परिवार पुनः विस्थापित भएका छन्। शनिबार रातिदेखि निरन्तर वर्षा भएपछि भजनीमा पुनः बाढी आउँदा भजनी ८ का ११७ परिवार विस्थापित भएका हुन्।


























