तनहुँ, साउन २६ । गोरु काटेर मासु खाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–१ बाख्रे बस्ने २२ वर्षीय मिलन नेपाली, सोही ठाउँका २२ वर्षीय विनोद थापा र ४५ वर्षीय विमलाल सुनार रहेका छन्।
कास्कीको साविक लेखनाथ नगरपालिका–२ स्थायी घर भई हाले म्याग्दे–१ मान्द्रे बस्ने ६६ वर्षीय तर्कबहादुर कुमालले कृषि पेशाको लागि पाल्दै आएका दुई वटा गोरुमध्ये एउटा गोरु चोरेर काटेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
पक्राउ परेकासहित छ जनाले गोरु चोरी गरेर मासु बाँडीचुँडी खाएको खुलेपछि उनीहरूलाई आइतबार जिल्ला अदालतबाट चोरी तथा गोरु मार्न नहुने मुद्दामा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
फरार रहेका अन्य व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए।


























