काठमाडौं, साउन २५ । भारत सरकारले नेपाली सेनालाई १० वटा भेन्टिलेटर प्रदान गरेको छ।
कोरोना भाइरस विरुद्धको अभियानका लागि सहयोग स्वरुप भारत सरकारको तर्फबाट दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबरको १० वटा आइसियू भेन्टिलेटर प्रदान गरेको नेपाली सेनाले जनाएको छ।
जंगी अड्डामा आइतबार आयोजित विशेष कार्यक्रमकाबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेन्टिलेटर हस्तानतरण गरेका हुन्।
कोभिड–१९ को महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि सरकारले तय गरेको कोभिड–१९ प्रतिकार्य राष्ट्रिय अभियान योजनालाई सहयोग पुर्याउन भारतले सहयोग स्वरुप भेन्टिलेटर प्रदान गरेको हो।
भेन्टिलेटर हस्तान्तरणको क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाईँमा विजय प्राप्तिका लागि नेपाललाई आवश्यक सहयोग पुर्याउन भारत प्रतिवद्द रहेको बताए।


























