काठमाडौं, साउन २५ । गोंगबुस्थित गणेशस्थानमा विभत्स हत्या भएको छ। हत्यापछि सुटकेशमा फालेको अवस्थामा शव फेला परेको छ।
घटनाबारे प्रहरीले अहिले अनुसन्धान अघि बढाएको छ। घटनास्थलमा पुगेको प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ।
घटनास्थलमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ। मृतक अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुष छन्। शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ।
पुरुषको टाउको बिनाको शव गणेशस्थान नजिकै कालो सुटकेशमा र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए।
सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोलीले घटनास्थलको निरीक्षण गरेका छन्। सो क्षेत्रमा अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।


























