काठमाडौं, साउन २२ । स्वास्थ्य मन्त्रालयले उपत्यकामा संक्रमणको दर बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ।
दिनदिनै संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डा.गौतमले सरकारी, सामुदायिक तथा नीजि कार्यालयहरुमा बैठक, गोष्ठि, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न आग्रह गरेका छन्।
गर्नैपर्ने अवस्थामा भर्चुअल बैठक गर्न उनले अपिल गरेका छन्। यस्तै भारतीय सीमा क्षेत्रका जिल्लामा संक्रमणको दर उच्च रहेकाले प्रदेश सरकार, स्थानीय पालिकाहरुलाई सावधानी अपनाउन आग्रह समेत गरे।
उपत्यका लगायत घनावस्ती भएका क्षेत्रमा संक्रमणको दर बढेकाले अस्पतालमा बेड, उपकरण चिकितसक लगायतको अभाव हुने सम्भावना देखिएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ।
संक्रमण बढ्दै गएमा अस्पतालले धान्न सक्ने अवस्था नभएकाले रोग लाग्न नदिन बेलैमा होस पुर्याउन उनले आग्रह गरे।


























