रौतहट, साउन २२ । कोरोना संक्रमण बढ्दै गएपछि रौतहटको स्थानीय प्रशासनले शनिबार (साउन २४) गतेबाट निषेधाज्ञा जारीको आदेश गरेको छ। नियन्त्रणतर्फ उन्मुख रहेको यस जिल्लाका केही नगरपालिकामा संक्रमण देखिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो।
कोभिड–१९ कै कारण रोजगारी गुमी भारतबाट घर फर्केर क्वारेन्टाइन बस्नेहरुमा मात्र कोरोना संक्रमण देखिएको थियो। पछिल्लो समय अन्यमा पनि कोरोना देखिन थालेको छ। जिल्लामा कोरोनाका ६ जना नयाँ संक्रमित पुष्टि भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले बताए। उनले भने, ‘समुदायमा पनि कोरोना देखिन थालेपछि नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छौं। समुदायका मानिसहरुले स्वास्थ्य नियमको ख्याल गर्नु पर्छ।’
जिल्ला प्रशासनमा बुधबार सुरक्षा समितिको बैठक बसी शनिबारबाट जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। प्रशासनले छिमेकी जिल्ला भारतमा कोरोना संक्रमण फैलिँदै गएको र यस जिल्लाको केही नगरपालिकामा संक्रमण देखिएकाले साउन २४ गतेबाट ३२ गतेसम्म निषेधाज्ञा जारी गरिएको जनाएको छ। जिल्लामा मानिसहरु संक्रमणबाट जोगिन समान्य स्वास्थ्य सुरक्षामापदण्ड पूरा नगर्ने, मास्क नलागाउने र समाजिक दूरी कायम नगर्ने जस्ता कार्य बढेको प्रशासनको ठम्याइ छ। उद्योग वाणिज्य संघको प्रतिनिधिलाई समेत राखेर प्रशासनले निषेधाज्ञाको निर्णय गरेको हो।
संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासनले एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको जोखिम बढिरहेकाले सर्वसाधारणलाई अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ।


























