काठमाडौं, साउन २२ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
योसँगै प्रहरी मुख्यालयमा कार्यरत कर्मचारी ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मुख्यालयमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको र सम्पर्कमा आउनेको स्वास्थ्य परीक्षण गर्दा थप जनाको पनि रिपोर्ट पोजेटिभ देखिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए।
संक्रमण पुष्टि भएका १० जनालाई बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना गरिएको छ। संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कडायतले बताए।
पहिले ४ जनामा कोरोना पुष्टि भएपछि उनीहरूको कन्ट्रयाक्टमा रहेका अन्य प्रहरीको स्वाब परीक्षणको काम अहिले जारी छ।
अहिलेसम्म देशभरका विभिन्न स्थानमा काम गर्ने २ सय प्रहरी कर्मचारी कोरोना संक्रमित भएका छन्। संक्रमितमध्ये ११९ जना निको भएका छन्।


























