साउन २१ । श्रीलंकामा बुधवार संसदीय चुनावको मतदान भइरहेको छ।
गोटाबाया राजपक्षेले राष्ट्रपति निर्वाचन जितेको आठ महिनापछि हुन लागेको संसदीय निर्वाचन उनकै दाइ महिन्दा राजपक्षेको दल श्रीलंका पोदुजाना पेरामुनाले जित्ने आकलन गरिएको छ।
दाइ महिन्दाको दलले बहुमत नपाएको भए पनि उनी प्रधानमन्त्री बन्न सकून् भनी गोटाबायाले राष्ट्रपति चुनाव जित्नेबित्तिकै संसद् विघटन गरेका थिए।
निर्वाचनमा एक करोड ६० लाखभन्दा बढी मतदाता छन् र तिनले आगामी पाँच वर्षका लागि २२५ जना सांसद निर्वाचित गर्नेछन्।
निर्वाचनमा ७० दल, ३१३ स्वतन्त्र समूह तथा ७ हजार ४५२ उम्मेदवार उठेका छन्।
संसद्का लगभग दुई दर्जन सीटमा अल्पसंख्यकहरू रहेको उत्तरी र पूर्वी प्रान्तले एसएलपीपीलाई दुई तिहाइ बहुमत पुग्नबाट रोक्ने सम्भावना देखिन्छ।
जम्मा चार वर्षअघि स्थापना गरिएको एसएलपीपीले चुनाव जित्ने प्रबल सम्भावना छ किनकि विपक्षी कमजोर र छिन्नभिन्न छ।
प्रमुख विपक्षी युनाइटेड नेसनल पार्टी र त्यसबाट चोइटिएर गएको समगी जन बलवेगया प्रतिस्पर्धामा छन्।
उत्तरी श्रीलंकामा रहेका तमिलहरूको भोट तमिल नेसनल अलायन्सले पाउँदै आएकोमा यसपालि मतदाताहरू उसप्रति अविश्वस्त छन् किनकि उसले अघिल्लो सरकारको पालामा तमिलको हितका लागि कुनै ठोस काम गरेन।
कोभिड महामारीका कारण चसनाव प्रचार सामाजिक सञ्जाल तथा डोर टु डोर क्याम्पेनमा सीमित रह्यो। आमसभा गर्ने कुरै भएन।
श्रीलंकामा ७० प्रतिशत सिंहली समुदायका मानिस छन्। उनीहरू बौद्ध धर्म मान्छन्। त्यहाँ १२ प्रतिशत हिन्दू, १० प्रतिशत मुस्लिम र लगभग ७ प्रतिशत क्रिस्चियन छन्।
संसद्को कार्यकाल अगस्टसम्म भए पनि राष्ट्रपति गोटाबायाले मार्चमा नै संसद् भंग गरेका थिए।
चुनावमा खराब अर्थतन्त्र, पर्यटन क्षेत्र ठप्प भएको स्थिति, बेरोजगारी तथा राष्ट्रिय सुरक्षा लगायतका विषय छन्।
श्रीलंका विदेशी ऋणमा डुबेको छ। सानो देशमा लगभग ५६ अर्ब डलर विदेशी ऋण छ। ऋण चुकाउन सक्ने हैसियत आफूसँग नभएको श्रीलंकाले बताएको छ।
राजपक्षे दाजुभाइलाई चीननिकट मानिन्छ। तर प्रधानमन्त्री महिन्दाले भारतसँग पनि राम्रो सम्बन्ध राखेका छन्।
चीनले श्रीलंकालाई आर्थिक सहयोग गरिरहेको छ तर उसले ऋणजालोमा पारेर श्रीलंकाको हम्बनटोटा बन्दरगाह कब्जा गरेको आरोप लगाइन्छ।


























