काठमाडौं, साउन २१ । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा परिणत भएको छ। पब्लिक कम्पनीमा परिणत भएसँगै अब एनसेलले सर्वसाधारणका लागि सेयर विक्री खुला गर्ने भएको हो।
कम्पनी रजिष्ट्रारको कार्यालयमा एनसेल अजियाटा लिमिटेड कम्पनीका रूपमा औपचारिक रूपमा दर्ता भएको छ।
कम्पनी ऐनमा भएको पछिल्लो व्यवस्थाअनुसार ५ करोड बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरू अनिवार्य रूपमा पब्लिक कम्पनीमा जानुपर्ने व्यवस्था गरेको छ। एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ।
लाभकर विवादका कारण सार्वजनिक कम्पनीमा जानबाट रोकिएको एनसेलको अब भने सेयर जारी गर्ने बाटो खुलेको हो।
कम्पनी ऐन २०६३ को पछिल्लो संसोधित व्यवस्था अनुसार आगामी बैशाखभित्र पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानु पर्ने व्यवस्था अनुसार एनसेलले आफ्नो संरचना परिवर्तन गरेको हो। पब्लिक कम्पनीमा रुपान्तरण हुन कम्पनीले २०७५ साालको बैशाखमै आवेदन दिएको थियो।
मेरो मोबाइलको नाममा आफ्नो सेवा विक्री गर्दै आएको स्पाइस नेपालले सन् २०१० मा स्विडेनको दूरसञ्चार कम्पनी टेलियासोनेरालाई विक्री गरेपछि त्यसयता एनसेलको रुपमा सेवा सञ्चालन हुँदै आएको छ।
निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनीको रुपमा रहेको एनसेलले २०६१ भदौ १६ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल सेवा सञ्चालनको अनुमति पाएको थियो। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार एनसेलका हाल १ करोड ६० लाखभन्दा बढी मोबाइल प्रयोगकर्ता छन्।


























