चितवन, साउन १९ । भरतपुर अस्पतालबाट स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ। अस्पतालबाट गत आर्थिक वर्षमा एक लाख १४ हजार १४३ बिरामीले बीमाको उपयोग गर्दै सेवा लिएका थिए।
अस्पतालका बीमा कार्यक्रम स्रोत व्यक्ति लिलाधर पौडेलका अनुसार बीमाका बिरामीले एक लाख चार हजार ३४७ पटक बहिरङ्ग सेवाको टिकट लिएका छन्। आकस्मिक सेवामा बीमाका टिकट लिने नौ हजार ७९७ र भर्ना भएर उपचार गर्नेको सङ्ख्या चार हजार ५४ रहेको छ । यसरी सेवा लिनेको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिए।
गत वर्ष अस्पतालमा दुई लाख ६४ हजार ३२ पटक विभिन्न व्यक्तिले उपचार सेवा लिएका थिए। तीमध्ये कतिपय दोहोरिएका पनि छन्। जिल्लामा २०७४ साल भदौबाट सो कार्यक्रम कार्यान्वयनमा आएकोे हो। अस्पतालले बीमा विकास बोर्डबाट रु ३८ करोड तीन लाख ७६ हजार ७५४ दाबी गरी भुक्तानी लिइसकेको छ। अन्य रकम भुक्तानीको चरणमा रहेको उनले बताए।
अस्पतालमा आन्तरिक सेवा लिएका कूल बिरामीको ३७ प्रतिशत बीमाका छन् भने औषधि खरिद गर्नेमा भने ५५ प्रतिशत रहेको छ। एकै जना बिरामीले वर्षमा सरदर ४.४ पटकसम्म अस्पताल आएको टिकटबाट देखिएको पौडेलले जानकारी दिए। चितवन जिल्लासहित छिमेकका १५ जिल्लाबाट यहाँ बिरामी आउने गरेका छन्।
तनहुँ, गोरखा, मकवानपुरलगायतका जिल्लाका कतिपय बिरामीले प्रथम विन्दु नै भरतपुर अस्पताल बनाएको पाइएको छ। सरकारले पछिल्लो समय जिल्लाका सरकारी अस्पताल र स्वास्थ्य केन्द्रलाई मात्रै प्रथम विन्दुको स्वीकृत दिएको छ। गत वर्ष अन्य जिल्लाबाट रिफर भएर दुई हजार ६०४ जनाले यहाँबाट सेवा लिएका थिए। यस अस्पतालबाट तीन हजार ६४० जना रिफर भएर अन्य अस्पताल गएको तथ्याङ्क छ।
बीमाको बिरामीको चाप बढ्दै गएको तर व्यवस्थित हुन नसक्दा कतिपय बिरामी सन्तुष्ट हुन नसकेर बीमा कार्यक्रमबाट बाहिरिएको पाइएको छ। भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी अबको अस्पतालको आम्दानी बीमा र शैक्षिक कार्यक्रम मात्रै हुने भएकाले यी दुवै क्षेत्रलाई व्यवस्थित गर्न अस्पताल लागेको जानकारी दिए। उनले बीमालाई छुट्टै व्यवस्थित विभागको रुपमा विकास गरेर सेवाग्राहीलाई सन्तुष्ट हुने गरी उपचार सेवा दिने बताए।
उनले भने, “हामी बीमालाई तीन महिनाभित्रमा पूर्ण युनिटका रुपमा विकास गर्दैछौँ।” अनलाइनमार्फत काम गर्ने, बीमाका सहजकर्तामार्फत समस्या बुझेर समाधान गर्ने र बीमाले तोकेका कम्तीमा ९० प्रतिशत औषधि अस्पतालको फार्मेसीबाट उपलब्ध गराउने गरी व्यवस्थित गर्ने अस्पतालले जनाएको छ।
हाल बीमाले एक हजार १३३ प्रकारका औषधि उपलब्ध गराउँदै आएको छ। देशका ५८ जिल्लामा बीमा कार्यक्रम लागू भएको छ। नेपालमा विसं २०७२ चैत १५ गतेबाट बीमा कार्यक्रम शुरु भएको हो। चितवन जिल्लामा मात्रै दुई लाख ६० हजारभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन्। जिल्लाका १२ वटा स्वास्थ्य संस्थाबाट बीमामार्फत उपचार सेवा लिन पाउने व्यवस्था रहेको स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी निर्मला भट्टराईले जानकारी दिए। रासस


























