काठमाडौं, साउन १६ । वीरगञ्जमा बस्दै आएका जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कोरोना संक्रमणको कारण मृत्यु भएको छ।
उनी ५६ वर्षीय भारतीय नागरिक हुन्। उनको वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो।
भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा।मदन उपाध्यायले जानकारी दिए।
भारतको दिल्ली घर भएका उनी वीरगञ्ज–११ श्रीपुरमा बस्दै आएका थिए।
‘उहाँलाई ७ साउनदेखि आइसियुमा राखेर उपचार सुरु गरिएको थियो,’ उपाध्यायले भने, ‘स्वास्थ्य थप जटिल भएपछि बिहीबार दिउँसोदेखि भने भेन्टिलेटरमा राखिएको थियो, तर राति ११ बजे उहाँको निधन भयो।’
मुटुको रोगी उनलाई ६ साउनमा कोरोना पुष्टि भएको उपाध्यायले बताए।
उनको शव हाल वीरगञ्ज कोभिड अस्पतालमै छ। शवको वीरगञ्जमै अन्त्यष्टि गरिने उपाध्यायले जानकारी दिए। ‘उनी भारतीय नागरिक भएपनि शव उता पठाइँदैन। वीरगञ्जमै अन्त्यष्टि हुन्छ,’ उपाध्यायले भने।
यसैबीच वीरगञ्जमा शुक्रबार बिहान थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पछिल्लोपटक थप ४२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए।
पर्सामा अहिले दुई सय ४२ जना कोरोना संक्रमित उपचारको क्रममा छन्। जसमध्ये ६१ जना मात्रै अस्पतालमा छन्। बाँकी सबै होम आइसोलेसनमा रहेका डा।उपाध्यायले बताए।
अस्पतालमा रहेकामध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको गण्डक कोभिड अस्पताल स्रोतले जनाएको छ।
बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो। योसँगै पर्सामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ।


























