साउन, १५ । ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ। हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ।
आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ। परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ।
वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ। यसको सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ।
हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ। नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद् डा.विष्णु दाहाल बताउछन्।
साउन महिना वर्षात समय भयकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खिर खाने गरिन्छ। खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ। बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खिर खाने गरेको पाइन्छ।
नेपालमा मात्रै होइन भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ। साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन्।
हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन्।
गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनु पर्ने हुन्छ। जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका पोषिला परिकारहरू, खासगरी खीर खाने चलन छ। यससँगै मौसमी फलफूल र मसला पनि खाने गरिन्छ।
सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ। पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ। दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि समेत खीर खाने चलन रहेको जानकारहरु बताउँछन्।


























