काठमाडौं, साउन १४ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबार भित्रका कर्मचारीको पीसीआर परीक्षण शुरू गरेको छ।
कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५ सयदेखि ७ सय कर्मचारीको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंका अनुसार सिंहदरबार भित्रका सबै कार्यालयका करिब ७ सय कर्मचारीको नमुना संकलनको तयारी भएको छ। परीक्षणपछि उपत्यका भित्रको अवस्था के छ भनेर आंकलन गर्न सकिने उनले बताए।
काठमाडौं उपत्यकामा मंगलबार मात्रै ५३ जनामा कोरोना संक्रमण देखिएको थियो। जसमा २३ जना प्रहरी रहेका छन्। उपत्यकामा कुल संक्रमितको संख्या ४ सय ७७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौंमा ३ सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० जना कोरोना संक्रमित रहेका छन्।


























