सुनसरी, साउन १४ । सप्तकोशी नदीमा पानीको बहाव फेरी बढेको छ। आज बिहान सप्तकोशीमा पानीको बहाव झन बढेको छ।
बिहान ६ बजेको मापन अनुसार सप्तकोशीमा पानीको बहाव बढेर प्रतिसेकेण्ड २ लाख ५ हजार ६ सय ७५ क्युसेक पुगेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले बताए।
पानीको बहाव उच्च हुँदा समेत भारतले सप्तकोसी ब्यारेजका ५६ मध्ये ३२ वटा मात्र ढोका खोलेको छ। सप्तकोसीमा मंगलवार पानीको बहाव प्रतिसेकेण्ड एकलाख ८२ हजार एकसय क्युसेक पुगेको थियो।
सप्तकोशीमा एकलाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछी खतरा मानिन्छ। सप्तकोसीमा पानीको बहाव खतरा उन्मुख भएको भन्दै कोसी आसपासका क्षेत्रमा नजान स्थानीय प्रशासनले स्थानीयलाई आग्रह गरेको छ।
सप्तकोशीमा पानीको बहाव उच्च भएपछी उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तयारी अवस्थामा राखिएको छ।
सप्तकोशीमा खतराको रातो बत्ती बालिएको छ भने ब्यारेजको दुबै तर्फ २ वटा रातो झण्डा समेत फहराइएको छ।


























