देवघाट, साउन १२ । देवघाट गाउँपालिका वडा नम्बर ५ मा सेती गण्डकी सप्लायर्स कम्पनीले ग्रावेल भन्दै माटो बिक्री गरि रहदा ईलाका प्रहरी कार्यालय देवघाटले आइतबार बिहान करिब ११ बजे तिर माटोसहितको एउटा टिप्परलाई नियन्त्रणमा लिएको छ।
गोहीटारबाट माटो उत्खनन गरेर बिक्रीको लागि भरतपुर तर्फ लैजाँदै गर्दा दासढुंगाबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख एवम् सई उज्वलराज चिलुवालले जानकारी दिए। प्रहरीले नियन्त्रणमा लिएको ना ६ ख ३६८७ नं।को टिप्पर आइतबार नै देवघाट गाउँपालिकाको जिम्मा लगाएको उनले बताए।
ग्राभेल भनेर माटो बेच्न लागेको भन्ने सुराकीको आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापामगरले आवश्यक अनुसन्धान गरेर कारबाही गरेर मात्र छाड्ने बताए। यसअघि पनि पटकपटक यस्ता गतिविधिमा संलग्न रहेको र जरिवाना गरि छाडिएको प्रहरीले जनाएको छ।


























