काठमाडौं, साउन ११ । नेपालमा छिरेका सलह निस्क्रिय हुँदै गएका छन्। गएको ३,४ दिनयता कतैपनि सलह सक्रिय भएको जानकारी नआएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका निर्देशक सहदेव हुमागाईँले जानकारी दिए।
हावाको बहावसँगै सलहको झुण्ड मुस्ताङलगायत उच्च पहाडी क्षेत्रतिर पुगेका र मौसम प्रतिकूलताका कारण धेरैजसो मरेका छन्। बाँचेका सलह पनि खान, बस्न नै नसकेर निस्क्रिय भएका उनले बताए। तर भारतको सीमावर्ती क्षेत्रमा रहेका सलहको झुण्ड नेपाल आउने सम्भावना भने कायमै छ।
तत्काल नै आउने सम्भावना के कति छ भन्नेबारे आज दिउँसो विज्ञसँगको छलफलपछि मात्रै थाहा हुने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका निर्देशक हुमागाईँले जानकारी दिए। उनकाअनुसार सीमावर्ती क्षेत्रमा कतिको सङ्ख्यामा छन् ? भारतमा मौसमको अवस्था के छ ? र नेपाल आएमा कत्तिको नोक्सानी पुर्याउन सक्छ ? भनेर आज छलफल गरेपछि जानकारी गराइनेछ।
हिजो अस्तिसम्म नै नेपाल आउने अनुमान गरिएको सलहको झुण्ड भारतमा मौसम प्रतिकूलताका कारण आउन नसकेको हुनसक्ने उनको भनाइ छ। आज सलहको प्रक्षेपण गर्ने एपमार्फत पनि विस्तृत जानकारी लिने र सूचना प्रकाशन गरिने उनले बताए। धुवाँ बाल्ने र ठूलो आवाज निकाल्ने गर्नाले सलह धपाउन सकिन्छ।


























