साउन १० । चिनियाँ जनमुक्ति सेनाकी वैज्ञानिक ताङ जुआन पक्राउ परेकी छन्। अमेरिकाको सानफ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावासमा लुकेको भनिएकी जुआनलाई अमेरिकी प्रहरीले शुक्रबार पक्राउ गरेको अधिकारीहरुले बताएका छन्।
ताङ गिरफ्तार भएको जानकारी दिइएपनि अमेरिकाले उनलाई कहाँबाट र कसरी पक्राउ गरेको भन्ने विषयमा केही खुलाएको छैन। ताङलाई अदालतमा लाने तयारी थालिएको बताइएको छ। अमेरिका प्रवेश गर्ने क्रममा अमेरिकी अधिकारीहरुलाई आफ्नो सम्बन्ध चिनियाँ जनमुक्ति सेनासँग नभएको बताएकी ताङको अनुसन्धान गर्दा उनी चिनियाँ जनमुक्ति सेनाको वैज्ञानिक भएको पत्ता लागेको थियो।
एफबीआइका अनुसार ताङ चिनियाँ हवाई सेनासँग सम्बन्धित छिन् र उनी त्यहाँकी अनुसन्धाकर्ता हुन्। चीनले जुआनजस्ता अन्य वैज्ञानिकहरु पनि अमेरिका पठाएको अमेरिकाको आशंका छ। यस विषयमा चीनले कुनै प्रतिक्रिया जनाएको छैन्। पछिल्लो समय अमेरिका र चीनबीच राष्ट्रिय सुरक्षा, प्रविधि, व्यापार लगायतका विषयमा विवाद जारी छ। एजेन्सी

























