मुम्बई, साउन १० । बलिउड अभिनेत्री कंगना रौनतलाई मुम्बई प्रहरीले स्पष्टीकरणका लागि प्रहरी कार्यालयमा स्पष्टीकरण दिन दोस्रोपटक पत्र पठाएको छ। पहिलोपटक पठाएको पत्रलाई बेवस्ता गर्दै प्रहरी कार्यालयमा स्पष्टीकरण दिन नआएको भन्दै दोस्रोपटक पत्र पठाउनु परेको प्रहरीले जनाएको छ। यदि दोस्रो पत्रपछि पनि आलटाल गरेर एक साताभित्र स्पष्टीकरण दिन प्रहरी कार्यालयमा नआएको खण्डमा पक्राउ गरेर ल्याइने प्रहरीले जनाएको छ।
एक महिनाअघि अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि अभिनेत्री कंगनाले सुशान्तको पक्षमा विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै आएकी छन्। अभिनेता सुशान्तको आत्महत्या नभएर उनलाई मन बाध्य तुल्याइएको भन्दै विभिन्न व्यक्तिहरूमाथि कंगनाले आत्महत्याका कारक भनेर आरोप लगाएकी छन्।
कंगनाले बोलेको कुरा पुष्टि गर्न प्रहरीमा उजुरी परेपछि बयानका लागि उनलाई प्रहरीले बोलाएको हो। यसअघि पठाएको पत्र कंगनाको परिवारले बुझ्ना मानेका थिएनन्। आफूले यथार्थ कुरा बोल्दा प्रहरीले बयानको लागि बोलाएको भन्दै यी अभिनेत्रीले ट्वीट गरेकी थिइन्। तर, उनी प्रहरी कार्यालयमा तोकिएको समयमा हाजिर नभएपछि फेरि दोस्रोपटक प्रहरीले सो बयानका लागि कार्यालयमा हाजिर हुनु भन्दै उनको घरमा पत्र दिएको छ। यसपटक उनको घर मैनालीमा प्रहरीले सो पत्र बुझाएको छ।
यी अभिनेत्रीले करण जौहर, स्वरा भास्कर, आलिया भट्ट, सोनाक्षी सिन्हा, तापसी पन्नुलगायत थुप्रै कलाकारलाई नातावादको आरोप लगाउँदै सुशान्त सिंह उनीहरूको सिकार भएको बताएकी थिइन्। अभिनेत्री कंगनाले यदी सुशान्त सिंह आत्महत्याको निष्पक्ष निर्णय नआएको खण्डमा सरकारले यसअघि आफूले गरेको सम्मान स्वरूपको पद्मश्री पुरस्कार भारत सरकारलाई नै फिर्ता गर्ने घोषणा गरेकी छन्। एजेन्सी


























