कोरोना (कोभिड-१९) महामारीका कारण नेपाल झन्डै ४ महिनासम्म लकडाउनमा रह्यो। अन्य मुलुकमा जस्तै यसले नेपालको अर्थतन्त्रमा पनि ठूलै धक्का पुर्यायो। लामो समयसम्म होटल, व्यवसाय, कलकारखाना तथा विद्यालय, सरकारी कार्यालयहरु बन्द हुँदा लाखौं मानिस प्रभावित मात्र भएनन्, भैपरि आउँदा हाम्रो राज्य संयन्त्रको वास्तविक अवस्था कस्तो रहेछ, त्योसमेत उदांगियो। आमजनताको व्यक्तिगत दैनिकीमा आएको परिवर्तनसमेत नसोचेको थियो। चैत ११ बाट सुरु लकडाउन साउन ६ मा हटाउने सरकारले औपचारिक घोषणा गरे पनि पहिलेकै जस्तो समान्य अवस्था (न्यु-नर्मल पिरियड) मा फर्किन समय लाग्ने देखिन्छ। घरबाहिर सुरक्षित रहन सक्ने वातावरण अझै बनिसकेको छैन।
यो जटिल परिस्थितिमा पनि दैनिक उपभोग्य सामग्रीको लागि मानिसलाई घरबाहिर निस्कनै पर्ने बाध्यता छ। कोरोना महामारीले घरबाहिर निस्कँदा कति जोखिम हुँदोरहेछ भन्ने पाठ अवश्य सिकाएको छ। धूवाँ, धूलो, भीड, ट्राफिक, गाडीको आवाज र तिनका कारण सिर्जित हुने साना-ठूला समस्याको सिकार त सधैँ भइ नै रहेकोमा अब भाइरस संक्रमण हुन नदिन आवश्यक सावधानीसमेत हाम्रो लागि अपरिहार्य बनेको छ।
कोरोना महामरीले कम्तीमा अब बजारको शैली परिवर्तन गर्नुपर्ने रहेछ भन्ने मुलभूत पाठ सिकाएको छ। बजारमा भिडभाडयुक्त वातावरणभन्दा अत्यावश्यक सामान सुरक्षित रुपमा अब घरभित्रै आइपुग्ने खालको बजारको विकास हुन जरुरी छ।
अन्य विकसित मुलुकमा पहिलेदेखि नै प्रचलनमा रहेको अनलाइन व्यापार नेपालमा पनि आवश्यक भइसकेको छ। इन्टरनेटको बढ्दो प्रयोगसँगै केही वर्षदेखि राजधानीलगायत मुख्य सहरमा यसको प्रचलन सुर नभएको होइन तर सबै क्षेत्र समेटिएको र आवश्यकताअनुसार पर्याप्त सेवा पुग्न सकेको देखिँदैन। सोंच, व्यावसायिक विश्वास, भौगोलिक कठिनाइ र विभिन्न प्राविधिक कारण ई–कमर्श साइटको विश्वसनियता र प्रभावकारितामाथि प्रश्न चिह्न लागिरहेकै बेला चितवनका दुईजना चिकित्सकले भने सोको पूर्ति गर्ने भन्दै नयाँ अनलाइन व्यवसाय सुरु गरेका छन्।

सेवाग्राहीको चाहना र बढ्दै गएको संक्रमणको जोखिमलाई कम गर्न पनि नयाँ व्यवसायको थालनी गरेको सञ्चालकमध्येका एक डा. आदित्य जालानले बताए। चितवनको बजार लक्षित गरी थालिएको ‘साझा मेगा मार्ट’ नामक अनलाइन किराना पसल सञ्चालनमा डा. जालानलाई साथ दिएकी छन् डा. सरिता राना गुरुङले । बुबाबाट सिकेको व्यापारिक संस्कारमा समय सुहाउँदो प्राविधिक ज्ञान थपेर व्यवसाय थालेको डा. जालानको भनाइ छ। ‘अनलाइन किराना पसलले मानिसको आवश्यकता पूरा गर्नुका साथै बजार र सपिङ कम्प्लेक्सबाट हुने संक्रमणको जोखिमबाट पनि बचाउँछ,’ उनले भने, ‘एक क्लिकको भरमा घरमै बसीबसी सामान आउने भएपछि झन्झट पनि हट्ने र समयको बचत पनि हुन्छ।’

सञ्चालकमध्येकी डा.गुरुङ थप प्रष्ट्याउँछिन्, ‘महिलाले जुनसुकै पेसा व्यवसाय गरे पनि घर, भान्सा हेर्नुपर्ने हुँदा बजारसम्म पुग्न पनि समय नहुने हुन्छ। म आफैं पनि महिला हुँ। यो समस्या म आफैंले पनि बुझेकी छु। त्यसैले आवश्यक सामान घरमै आइपुग्ने हो भने हाम्रो जीवन धेरै सहज हुने थियो भनेर नयाँ योजनासहित यो व्यवसाय थालेका हौँ।’ विदेशमा जस्तै अर्डर (माग) अनुसार सामान घरमै आइपुग्ने परिपाटीलाई नेपालमा पनि कार्यान्वयन गराउने प्रयासमा लागेको उनी बताउँछिन्। ‘विदेशमा अनलाइन सेवा व्यावहारिक भइसक्यो, विस्तारै नेपालमा पनि यो व्यवसाय फस्टाउने क्रममा छ,’ उनी थप्छिन्, ‘अहिले हामी सबैको हात-हातमा मोबाइल छ। इन्टरनेटको पहुँच पनि बढ्दो छ। त्यसैले प्रविधिको सदुपयोग गर्नको लागि पनि यो व्यवसाय समयसान्दर्भिक छ भन्ने लाग्छ।’ आफ्नै घरभित्रको समस्याबाट पनि नयाँ बाटो खोज्न सकिँदो रहेछ भन्ने लकडाउनले सिकाएको उनको बुझाइ छ। ‘हामीले खोजेर मात्रै हुँदैन भन्ने लागेर आफैं यो काममा अगाडि बढेका हौँ,’ उनले भनिन्। मोबाइल एप र वेबसाइट दुवै माध्यमबाट यसलाई प्रयोग गर्न सकिन्छ।
एपमा के छ?
यो एप नै एउटा किराना पसल हो। यो पसलमा भान्सामा चाहिने सबै सामान समूह छुट्याएर राखिएका छन्, सपिङ् सेन्टर र मार्टमा जस्तै। सामान छानेर खरिद गर्नेबेला भुक्तानी गर्नको लागि ई-सेवा, खल्तीलगायतका अनलाइन भुक्तानीका माध्यमहरू छन्। यसको अलावा एपको आफ्नै ‘वालेट’ सुविधा पनि छ, जसमा आवश्यकतानुसार रकम चढाउन सकिन्छ। मार्टकै वालेटमा दर्ता हुने बित्तिकै कम्पनीले १० रुपैयाँ प्रयोगकर्तालाई नि:शुल्क उपलब्ध गराउँछ। यो एप अरू साथीहरूलाई प्रयोगका लागि ‘रेफर’ गर्न पनि सकिन्छ, त्यसबापत प्रतिदर्ता २५ रुपैयाँका दरले वालेटमा रकम थपिन्छ। उक्त रकमलाई यसै एपमा सामान खरिद गर्नको लागि प्रयोग गर्न सकिन्छ।
प्रयोग गर्ने तरिका
यो एप चलाउन एन्ड्रोइड मोबाइलकोगुगल प्ले स्टोरबाट ‘साझा मेगा मार्ट’ (Sajha Mega Mart) सर्च गरेर सुरुमा इन्स्टल गर्नुपर्छ। पहिलोपटक एप खोल्दा रजिस्ट्रेसन गर्ने अप्सन आउँछ। रजिस्ट्रेसनको लागि प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बर राखेर सबमिट गरेपछि पक्का गर्नको लागि मोबाइलमा एउटा कोड आउँछ। प्राप्त कोड एपमा राखेपछि यो पसल तपाइँको मोबाइलमा तयार हुन्छ। एपमा दिइएका अलग अलग समूहभित्र सहजरूपमा प्रवेश गरी आवश्यक सामान अर्डर गर्न सकिन्छ। अर्डर भएको सामानको भुक्तानी अनलाइनबाटै गर्न सकिन्छ। सुरक्षाको पूर्ण प्रत्याभूति होओस् भन्नाका लागि सम्बन्धित भुक्तानी सेवाको आफ्नै वेवसाइटमा लगिन्छ। अर्डर पूरा गर्नेबेला आफूलाई उपयुक्त हुने दिन र समय छनोट गर्न सकिने सुविधा पनि दिइएको छ। छनोट गरिएको समयमा पसलका कर्मचारीले उचित सुरक्षा अपनाउँदै घरमै सामान पुर्याउँछन्।

सङ्क्रमणमुक्त सामग्री घर-घरमा
कम्पनीको आफ्नै गोदाम छ। सबै सामान त्यहीँ रहन्छन्, जहाँ संक्रमण न्यूनीकरणको अधिकतम उपाय अपनाइएको हुन्छ। गोदाम व्यवस्थापन र सामान पुर्याउनको लागि निश्चित कर्मचारी खटाइएको छ। उनीहरूलाई काममा लगाउनुपूर्व सबैको पीसीआर परीक्षण गरिएको र रिपोर्ट ‘नेगेटिभ’ आएको पनि मार्टले जनाएको छ। यो परीक्षण प्रत्येक ६ हप्तामा गर्ने तालिका मिलाइएको छ। सबै कर्मचारीलाई मास्क, सेनिटाइजर र पञ्जाको प्रयोग अनिवार्य गरिएको छ।
सामानको अर्डर प्राप्त भएपछि स्टोरका कर्मचारीले सबै सुरक्षा सावधानी अपनाउँदै सामान तयार गर्छन् र सामान पुर्याउने कर्मचारीले त्यसलाई उस्तै सुरक्षा सावधानी अपनाउँदै उपभोक्ताले तय गरेको समयावधिभित्र घरमा पुर्याउँछन्। उपभोक्ताको घरमा पनि कुनै प्रत्यक्ष सम्पर्कबिना नै उपभोक्ताले तोकेको स्थानमा सामान छोडेर कर्मचारी फर्कन्छन्।
अर्डर बमोजिमको सामान नभए!
सामानको अर्डर गरेसँगै एउटा कोड उपभोक्ताको मोबाइलमा पठाइन्छ। सामान पुर्याउन आउने कर्मचारीले तपाईंसँग उक्त कोड माग्नेछन्। तपाईंले दिएको कोड कर्मचारीले आफ्नो मोबाइलमा ‘सबमिट’ गरेपछि तपाईंले सामान प्राप्त गरेको पक्का हुन्छ। यसरी पाएको सामानमा चित्त नबुझे ४८ घण्टाभित्र सामान फिर्ता गर्न सकिन्छ।
सस्तो मूल्यमा गुणस्तरीय सामान
मार्टबाट खरिद गरिएका जुनसुकै सामग्री बजारमूल्यभन्दा सस्तो र गुणस्तरीय समेत हुने डा. आदित्यको दाबी छ। भन्छन्, ‘कुनै पनि सामान होलसेल बजारबाट उपभोक्तासम्म पुग्दा विभिन्न ठाउँमा ठोक्किने हुँदा मूल्य बढी पर्न आउँछ। तर हामी होलसेल बजारबाट सिधै उपभोक्तासम्म पुर्याउँछौं।’ अनलाइन माध्यममा मार्ट चलाउँदा सञ्चालन खर्चसमेत कम हुने भएकोले स्वतः सामग्रीको बिक्री मूल्यमा त्यसको भार नपर्ने उनको भनाइ छ। ‘सपिङ सेन्टरको जस्तो ‘प्राइम लोकेसन’को लागि महंगो भाडा बुझाउनु नपर्ने, प्रविधिको उच्चतम प्रयोगबाट तयार गरिएको ‘स्वचालित सिस्टम’को लागि एकपटक गरेको लगानीबाट सधैँको लागि काम लिन सकिने भएकोले निरन्तर भइरहने खर्च पनि कटौती हुन्छ,’ उनले भने, ‘निश्चित कर्मचारीद्वारा सबै काम सम्पन्न गर्न सकिने हुँदा सञ्चालन खर्च नै कम पर्छ। बचत भएको यो खर्चलाई हामीले उपभोक्तासँगै बाँढ्ने हो। त्यसैले मूल्यमा पनि स्थानीय बजारमा भन्दा केही कम अवश्य हुन्छ।’
नेपालमा आवश्यकता सबैलाई भएर पनि अनलाइन व्यवसायको सञ्चालन र प्रभावकारिता फस्टाउन नसकेकोमा भने उनी चिन्ता व्यक्त गर्छन्। राज्यले सोही अनुरुपको नीतिनियम बनाएर प्रवर्द्धन गर्न सके यस क्षेत्रमा धेरैजना आत्मनिर्भर र सबल बन्न सक्ने उनको बुझाइ छ। ‘अनलाइन माध्यमबाट सहज र सस्तो मूल्यमा सामान पाउने भएपछि उपभोक्तालाई स्वास्थ्य सुरक्षाको जोखिम कम र समयको बचत हुनेछ,’ उनले भने।





























