काठमाडौं, साउन ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरूबीच चोचोमोचो मिलाएर मात्र पार्टी एकता नहुने बताएका छन्।
‘संघर्ष र बहसभन्दा बाहिर एकताको तथाकथित माला जपेर हुँदैन,’ पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा प्रचण्डले भने।
प्रचण्डले नेकपामा विगतदेखि नै विचार एउटाको र नेतृत्व अर्कोको हुने गरेको अवस्था अहिले पनि देखिएको टिप्पणी गरे।
‘विचार र सिद्धान्त पुष्पलालको हुने, नेतृत्व त्यो विरोधी मान्छे (केशरजंग रायमाझी) को हुने अवस्था थियो। अहिले पनि त्यस्तै नेता भोगेको हो नि, समस्याको चुरो यतै छ कि भनेर हेर्न जरुरी छ,’ प्रचण्डले भने।
एकता, संघर्ष, रूपान्तरण र नयाँ आधारमा एकता गर्ने कम्युनिस्ट आन्दोलनको विशेष भएको उनले बताए।
‘सच्चा कम्युनिस्ट पार्टीको नेताले लिने एकता, संघर्ष र रूपान्तरण हो। त्यसका आधारमा नयाँ एकता गर्ने हो। यसो नहुँदा कम्युनिस्ट आन्दोलनमा फुट आएको छ, विश्वले धेरै देखेको छ, आदर्शवादी भ्रममा हुनुपर्ने देखेको छैन।’


























