काठमाडौं, साउन ७ । भारतीय बजारमा उत्पादन हुने तीन नयाँ मोडलका मोटरसाइकल नेपाल आउँदा सुरु मै भारतीय प्रदुषण मापदण्ड (बीएस–६) इन्जिनमा आउने भएका छन्।
लामो समयदेखिको लकडाउनका कारण अहिल्यै कुन मितिमा यी मोटरसाइकल आउने छन् भन्ने विषयमा एकिन नभएपनि लकडाउन सकिएपछि यी मोटरसाइकल नेपाल ल्याउने प्रकृया सुरु हुने सम्बन्धीत कम्पनीले जनाएका छन्।
नेपालमा बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको छ भने हिरोको आधिकारीक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालि रहेको छ। त्यसैगरि यामाहाका मोटरसाइकल एमएडब्ल्यू इन्टरप्राइजेजले बिक्री वितरण गर्दै आएको छ।
यदि कोभिड १९ को संक्रमण र लकडाउनको अवस्था नरहेको भए यी मोटरसाइकल नाडा अटो शो २०२० मा बिक्री सुरु हुने थियो। अब यी मोटरसाइकल लकडाउन खुलेपछि आयात प्रकृया सुरु हुने जनाइएको छ।
यी तीन वटै मोटरसाइकल नयाँ मोडल हुन् भने उच्च पर्फमेन्स क्षमता भएका मोडल हुन्। पावरफुल मोटरसाइकल चाहने ग्राहकको लागि यी मोटरसाइकल उत्कृष्ट हुन सक्ने छन्।
बजाज डोमिनार २५०ः भारतमा बिक्री सुरु भइसकेको डोमिनार २५० नेपाल ल्याउने तयारी सुरु भइसकेको थियो तर, कोरोना भाइरसको कारण तत्काल नेपाल आउन नसकेको यो मोटरसाइकलले २५० सीसी सेग्मेन्टमा उत्कृष्ट व्यापार गर्ने अनुमान गरिएको छ।
यसमा दिइएका अधिकांश फिचर डोमिनार ४०० बाट लिइएकोले पनि यसले राम्रो व्यापार गर्ने अनुमान गर्न सकिन्छ।
बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ। सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर यसको सबल पक्ष हो।
त्यसैगरि अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर यसमा पाउन सकिने छ। स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेका छन्।
ड्यूक २५० बाट लिइएको २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन यसमा रहेको छ। उक्त इन्जिनले अधिकतम ९००० आरपीएममा ३० पीएस पावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्नेछ। यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहने छ।
डोमिनार २५० को मूल्य नेपालमा ४ लाख ४० हजार रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ।
हिरो एक्स्ट्रीम १६० आरः हिरो मोटो कर्पले ल्याएको एक्स्ट्रीम १६० आर अहिले चर्चाको शिखरमा रहेको छ। हिरोले ल्याएको नयाँ एक्स्ट्रीम १६० आर यो सेग्मेन्टकै सर्वा्धिधक छिटो कुद्ने मोटरसाइकल भएको छ। यसले ० देखि ६० किलोमिटरको स्पीड भेट्टाउन केवल ४.७ सेकेन्ड मात्र समय लगाउने छ।
कम्पनीले यसमा दिएको १६० सीसी एफआई इन्जिनले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ। यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको जनाएको छ।
हिरो एक्स्ट्रीम आरमा नयाँ डायमण्ड टाइप सिंगल डाउन ट्युव फ्रेम दिइएको छ। यसमा अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ। साथै, दुबै चक्कामा पेटल टाइप डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ।
हिरोले आफ्नो एक्स्ट्रीम २०० आरको तुलनामा एक्स्ट्रीम १६० आर नयाँ मोडलमा अब्बल फिचरहरु उपलब्ध गराएको छ। कम्पनीले यसमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने यसमा पूर्णत डिजिटल डिस्प्लेको प्रयोग गरेको छ।
कम्पनीले एक्स्ट्रीम २०० मा टेललाईट मात्र एलइडी प्रयोग गरेको थियो भने सेमिडिजिटल इन्ट्रुमेन्ट कन्सोलको प्रयोग गरेको छ। यो मोटरसाइकल नेपाल आउँदा यसको मूल्य ३ लाख ३० हजार रुपैयाँ हाराहारीमा पर्ने देखिन्छ।
यामाहा एफजेडएस २५०ः यामाहाले एफजेडएस सिरिजमा नयाँ मोडल थप गरेको छ। भारतीय बजारमा बिक्री सुरु हुन लागेको यो मोटरसाइकल पनि चाँडै नेपाल आउन सक्ने मोडल हो।
यसअघि २५० सीसी सेग्मेन्टमा एफजेड २५ र फेजर २५ मोडल बिक्री वितरण गर्दै आएको यामाहाले फेजर २५ को उत्पादन बन्द गर्दै एफजेडएस २५ बजारमा ल्याउने भएको हो।
निकै स्पोर्टी डिजाइनमा आउन लागेको एफजेडएसमा एलइडी डिआरएल, विंड स्कृन, मस्कुलर फ्यूल ट्याङक, स्प्लिट सिट, प्रोजेक्टर हेडल्याम्प जस्ता फिचर उपलब्ध रहेको छ।
यस स्टाइलिस मोटरसाइकलमा २४९ सीसी सिंगल सिलिण्डर एफआई इन्जिन दिइएको छ। उक्त इन्जिनले अधिकम २०।५ बीएच पावर र २० एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले यसमा ५ स्पीड गियरबक्स दिएको छ। साथै सुरक्षाको लागि दुबै चक्कामा डिस्क ब्रेकको साथ डबल च्यानल एबीएस दिएको छ।
यसको मूल्य नेपाली बजारमा ४ लाख ४० हजार रुपैयाँ हाराहारीमा आउने अनुमान गर्न सकिन्छ।




















