काठमाडौं, साउन ७ । कक्षा १२ को परीक्षा दसैंअघि नै हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आगामी असोजमा कक्षा १२ को परीक्षा लिने निर्णय गरेको हो।
बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले नै लिने गरी कार्यविधि पनि पारित गरेको छ। कक्षा ११ को परीक्षा अब विद्यालयले नै लिने निर्णय गरिसकेको र त्यसका लागि कार्यविधि पनि पारित भइसकेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए।
“बोर्डले कक्षा १२ को परीक्षा आगामी असोजसम्ममा सम्पन्न गरिसक्ने तयारी गरेको छ। बोर्डले कक्षा ११ को परीक्षा र मार्किङको कार्यविधि पनि पारित गरेको छ,” उनले जानकारी दिए। असोज लागेलगत्तै कक्षा १२ को परीक्षा गर्ने तयारी बोर्ड गरिरहेको छ। उनका अनुसार विद्यालयले कक्षा ११ को परीक्षा लिँदा बोर्डले यसअघि लिएको जस्तै गरी लिनुपर्ने र प्रमाणीकरण एवं मूल्यांकन पनि विद्यालयले गर्नुपर्नेछ।
बोर्डले पारित गरेको कार्यविधिअनुसार कक्षा ११ को परीक्षा, प्रमाणीकरण एवं मूल्यांकन विद्यालयले नै गर्ने, कक्षा १२ को जुन तरिकाले ग्रेडिङ गरिएको छ सोहीअनुसार ग्रेडिङ गर्ने, पाठ्यक्रमअनुसारै प्रश्नपत्र निकाल्नुपर्नेछ। कार्यविधिअनुसार कक्षा ११ मा डी प्लसको ग्रेडिङ नआएका विद्यार्थी कक्षा १२ मा भर्ना हुन नपाउने भएका छन्। बोर्डका अनुसार विद्यालयले आफ्नो अनुकूलतामा परीक्षा लिन सक्नेछन्।




















