हेटौंडा । गणतन्त्रपूर्वको जनआन्दोलनमा चार सन्तान गुमाएकी शुभद्रा दर्नालले मंगलबार सरकारले बनाइदिएको घर पाएकी छन्। आन्दोलनमा चार छोरा गुमाएकी हेटौंडा उप–महानगरपालिका वडा नं ९ शान्तिनगर सुकुम्बासी टोलकी ७० वर्षीया दर्नाललाई स्थानीय सरकारले चार कोठाको घर बनाइदिएको हो। मंगलबार हेटौंडाका मेयर हरिबहादुर महतले छाप्रोमा बस्दै आएकी द्वन्दपीडित वृद्दालाई स्वर्गीय पुष्पलाल श्रेष्ठ र वीपी कोइरालाको स्मृतिको अवसर पारेर घरमा प्रवेश गराएका हुन्।
करिब ११ लाख रुपैयाँ लागतमा शौचालयसहितको घर निर्माण गरेर हस्तान्तरण गरिएको मेयर महतले जानकारी दिए। आफूले जीवनमा काम गरेको मध्यमा जनआन्दोलनमा चार छोरा गुमाएकी आमालाई घर बनाएर हस्तान्तरण गर्न पाउँदा सबैभन्दा खुसी लागेको उनले बताए। सन्तान गुमाएको पीडामा रहेकी दर्नाललाई साँझ–बिहानको हातमुख जोर्नै धौधौ भइरहेका बेला स्थानीय सरकारले बस्ने बासको व्यवस्था मिलाइदिएपछि ठूलो राहत मिलेको महसुस गरेकी छन्। सामान्य टहरोमा बस्दै आएकी उन रक्तअल्पता, दम जस्ता रोगबाट पनि पीडित छन्।

घर हस्तान्तरण गर्दै मेयर महतले देशकै लागि चार सन्तान गुमाएकी आमाको सम्पूर्ण हेरबिचार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। ‘मैले हरेक दशै तिहार लगायतका चाडपर्वमा खानेकुरा तथा लत्ता कपडा दिँदै आएको छु,’ उनले भने, ‘अबदेखि आमा बाचुन्जेलसम्म छोराको रुपमा सहयोग गर्न म तयार छु।’


























