काठमाडौं, साउन ४ । भान्जाको अपहरण गरी हत्या गर्ने एक जना १३ वर्षपछि पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेशकुमार गुप्तालाई पक्राउ गरेको हो।
महाशाखाको टोलीले उनलाई सर्लाहीको मलङ्गवा नगरपालिका ८ गोरखकालीबाट पक्राउ गरेको महाशाखाका एसएसपी दीपक लामाले बताए। अभियुक्तले दुई लाख ५० हजार फिरौती मागेका थिए। पछि दुई लाख रुपैयाँमा कुरा मिलेको थियो।
यद्यपि अभियुक्त आफैले फिरौतीबापतको दुई लाख रुपैयाँ त्रिभुवन पार्कमा लिएर गएको एसएसपी लामाले बताए। शव व्यवस्थापनपछि छठ मान्न जान्छु भनेर उनी भारत गएको र उतै बसेको उनले जानकारी दिए। घटनामा संलग्न धादिङका विष्णु सुनारलाई प्रहरीले गएको मङ्सिर १२ गते पक्राउ गरेको थियो। उनको बयानको आधारमा गुप्ताको खोजी भइरहेको थियो।
२०६४ असोज २४ गते खिचापोखरी बस्ने रोहित गुप्ता (भान्जा) लाई राजेशकुमार (मामा) ले अपहरण गरी हत्या गरेका थिए। शव तीन दिनपछि मात्रै फेला परेको थियो।


























