चीन, साउन २ । चीनले मंगल ग्रहको मिसनको लागि अर्को पाइला चालेको छ। मंगलमा पहिलोपटक यान पठाउनका लागि प्रक्षेपणका लागि रकेट तयारी अवस्थामा राखेको छ।
तियानवेन १ नाम दिइएको मिसन अन्तर्गत रकेट वेन्चाङ स्पेस लन्च सेन्टरमा ठाडो गरी राखिएको ग्लोबल टाइम्सले जनाएको छ। रकेटलाई जुलाई देखि अगष्टको शुरुसम्ममा प्रक्षेपण गरिनेछ।
रकेटमा यान हुनेछ। जुन एकै मिसनमा तीनवटा उद्देश्यका साथ पठाउन लागिएको हो। तियानवेन १ सफल भएमा यसले मंगल ग्रहलाई परिक्रमा गर्ने, अवतरण गर्ने र जमिनमा यात्रामा निस्कने छ। एउटै मिसनमा तीनवटा काम एकसाथ गर्नेछ।
चीनको मंगल मिसन त्यहाँको सरकारले सन् २०१६ मा अनुमोदन गरेको हो। त्यसपछि चार वर्ष लगाएर सम्पूर्ण तयारी पूरा गरिएको जनाइएको छ।
मंगल मिसनो यान जडित रकेटको पूर्ण चेकजाँच र अनुगमन पछि मात्र प्रक्षेपण गरिनेछ। मंगल ग्रहको दुरी साँढे पाँच करोड किलोमिटर छ। पृथ्वी र मंगल ग्रह २६ महिनामा एकपटक नजिक आउँछन्।
मंगल मिसनमा रकेट प्रक्षेपण गर्न निश्चित वातावरणीय अवस्था हुनुपर्छ। वर्षा हुनुहुँदैन, जमिनको सतहमा हावाको वेग प्रति सेकेन्ड आठ मिटर भन्दा बढी हुनुहुँदैन। दृश्य देखिने दुरी तेर्सोमा २० किलोमिटर हुनुपर्छ। वरिपरिको ३० देखि ४० किलोमिटर क्षेत्रमा हुरी लाग्नु हुँदैन। एजेन्सी


























