हेटौँडा, असार ३१ । जिल्ला अदालत मकवानपुरले सुस्मिता हत्याकाण्डका चारजना अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ। बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले हेटौंडा–४ कर्राकी सुस्मिताको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
मंगलबार थुनछेक बहस सकिएको भए पनि बुधबार आदेश आएको हो। हत्या अभियोगमा पक्राउ परेका सुस्मिताका ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापा, सासु ५० बर्षीया तुलसाकुमारी थापा र अर्की नन्द २७ बर्षीया दुर्गा थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए।
गत आइतबार सरकारी वकिलको कार्यालयबाट हत्यामा संलग्न रहेको भन्दै पाँचजना विरुद्ध अभियोगपत्र दायर भएको थियो। अभियोगपत्रमा ससुरा प्रकाश र नन्द सीतालाई आजिवन कैद, ज्वाईँ अरुण र अर्की छोरी दुर्गालाई २५ वर्ष तथा सासु तुलसालाई साढे १२ वर्ष कैदको माग गर्दै अभियोगपत्र दायर भएको थियो।


























