चितवन। एउटा टेलिभिजन च्यानलमा दिएको अन्तर्वार्तामा ‘राजेश हमाल महानायक हो र ?’ भनेर विवादमा परेकी कलाकार तथा निर्देशक दीपाश्री निरौलाले दर्शकसँग माफी मागिसकेकी छन्। तर, विवाद भने अझै सेलाएको छैन। यस विषयमा धेरै कलाकारहरूले आफ्ना धारणा राखिसकेका छन्। धेरैजसो कलाकारले राजेश हमालको समर्थन गरेर प्रतिकृया दिएका छन् भने सीमित कलाकारहरूले दीपाश्रीको समर्थन जनाएका छन्। कतिपयले भने कमीकमजोरी सबैबाट हुन्छ भनेर तटस्थ बसेका छन्। तर, सामाजिक सञ्जालमा भने अहिले पनि दीपाश्रीको विरोधमा प्रतिकृया पढ्न पाइन्छ।
प्रतिकृयास्वरूप एकोहोरो गाली गलौज हुन नछाडेपछि मंगलबार मध्यरातमा महानायक राजेश हमालले आफ्नो फेसबुक पेजबाटै दर्शक र आफ्ना समर्थकलाई सजग गराएका छन्।
दीपाश्रीले माफी मागिसक्दा पनि दर्शकहरूले एकोहोरो प्रहार गरेपछि महानायक हमालले मानवताको लागि सबैले सकारात्मक तरिकाले सोच्नुपर्ने बताएका छन्। कलाकार र दर्शकबीचको सम्बन्ध नङ र मासु सरह हुने भन्दै सबै कलाकारको कार्यक्षेत्र एउटै भएकोले विवादित अभिव्यक्ति दिने कलाकारलाई गाली नगर्न आग्रह गरेका हुन्। कुनै एउटा सार्वजनिक स्थलमा उभिएर दिएको अभिव्यक्तिले कसैलाई चोट लाग्छ भने त्यस्तो कसैले पनि गर्न नहुने आशय व्यक्त गर्दै हमालले भनेका छन्, ‘राष्ट्रको गहनाको रूपमा रहेको सिने क्षेत्र, कला क्षेत्र र मानवताको लागि एकदमै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला। र, कलाकारलाई आफ्नो सिर्जना पस्किन प्रेरित गरिरहनुहोला।’
दीपाश्री निरौलाले सामाजिक सञ्जालबाट ‘मबाट गल्ती भयो मलाई माफ गरिदिनुहोला’ भनेर माफी मागिसकेपछि यसबारे थप प्रतिकृया दिएकी छैनन्। तर, उनकै सहकर्मी दीपकराज गिरीले भने गल्ती गर्नेबाट माफी मागिसकेपछि सेलाउनुपर्ने विषय नसेलाउनुमा ‘छक्कापञ्जा ब्राण्ड’माथिको प्रहार भएको प्रतिकृया दिएका छन्। आफूलाई नेपाली चलचित्र क्षेत्रकै ठूलो ब्राण्ड घोषणा गर्दै दीपकराज गिरीले भनेका छन्, ‘एउटा ठूलो ब्राण्डले राजेश हमाल ब्राण्डप्रति औँला उठायो, हामीले यो घटनाबाट हामीले केही पाठ सिकेका छौँ। त्यसैले गल्ती मान्छेबाटै हुने कुरा हो। राजेश हमाल र हमालका फ्यानहरूसँग म क्षमा माग्दछु।’
तर, सामाजिक सञ्जालमा प्रहार हुन नछाडेपछि दीपकराज गिरीले आफूहरूलाई गाली गर्नेमध्ये ७५ प्रतिशत नक्कली फेसबुक आइडि प्रयोगकर्ता रहेको दाबी गरे। ‘मैले साइबरका साथीहरूलाई सोध्दा ७५ प्रतिशत नक्कली आइडीबाट गाली गरेको पाइयो,’ उनले भने, ‘संगठित गिरोहले सयौँ आइडि बनाएर हामीलाई गिराउने काममा लागेका छन्।’ यस्ता नक्कली आइडि होल्डरलाई सरकारले कारवाही गर्नुपर्ने पनि उनले माग गरेका छन्। ‘होइन भने हामीले बोल्न पनि नपाइने ? के हामी किम जोङको राज्यमा छौँ?’ उनले भने, ‘यदि चलचित्रप्रति यस्तै चासो भएको भए वर्षमा एकाध चलचित्र चलेको हो कि होइन जस्तो हुने थिएन, यस्तै माया भएको भए नेपाली चलचित्र कता पुग्थ्यो?’
जिन्दगीभर हमाललाई गाली गर्ने चलचित्रकर्मी पनि अहिले हमालकै समर्थनमा लागेको उनले बताएका छन्. ‘पहिले पहिले राजेश हमाल समयमा नआउने, यो नगर्ने उ नगर्ने भनेर आरोप लगाउने सिनियरहरूले पनि अहिले हामीलाई गाली गर्न थाले,’ उनले भने, ‘अहिलेको यो घटनाले चलचित्रकर्मीहरूकै दोहोरो चरित्र प्रष्ट भएको देखियो।’ गल्ती गर्नेले माफी मागिसकेपछि सेलाउनु पर्ने घटनालाई सेलाउन नदिइकन ‘यिनीहरूको करियर सिध्याइदिम्’ भन्नेतिर लागेको उनको आरोप छ। दीपाले निहुरिएर माफ मागिसक्दा पनि जबरजस्ती डिप्रेसनमा पठाइदिने काम गरेको उनले बताए।


























