असार ३१ । कोरोना भाइरससँग जुधिरहेको दुनियाँका लागि खराब खबर छ। चीनपछि अब अमेरिकाको कोलोराडोमा एक लोखर्केमा बुबोनिक प्लेगको संक्रमण देखिएको छ। चीनबाट आएको कोरोना जसरी नै प्लेग नफैलियोस् भनेर वैज्ञानिकहरु सतर्क देखिएका छन्।
झन्डै १० दिनअघि चीनको आन्तरिक मंगोलियाका दुई व्यक्तिमा बुबोनिक प्लेग देखिएको समाचार बाहिरिएको थियो। बुबोनिक प्लेगले संसामार तीनपटक महामारीको रुप लिइसकेको छ। पहिलो पटक यसले ५ करोड, दोस्रोपटक युरोपको एक तिहाई जनसंख्या र तेस्रोपटक ८० हजार मानिसको ज्यान लिएको थियो।
अहिले फेरि १० दिनभित्रै चीन र त्यसपछि अमेरिकामा यो रोग देखिएको छ। अमेरिकाको कोलोराडोस्थित मोरिसनब बस्तीमा ११ जुलाईमा एक लोखर्केमा प्लेगको संक्रमण देखिएको हो।
कोरोराडोमा स्थानीय प्रशासनले मानिसहरुलाई सतर्क रहन भनेको छ। त्यस्तै, मुसा, लोखर्के, न्याउरी मुसासँग टाढा रहन भनेको छ।
बुबोनिक प्लेग मुसामा पाइने ब्याक्टेयिाबाट फैलन्छ। यस ब्याक्टेरियाको नाम यर्सिनिया पेस्टिस ब्याक्टेरियम हो। यो ब्याक्टेरियाले रगत, फोक्सोलगायत शरीरका विभिन्न भागमा हमला गर्छ। प्लेग लागेपछि औंलाहरु कालो भएर सुन्निन थाल्छन्, नाकको अवस्था पनि त्यस्तै हुन्छ।
बुबोनिक प्लेगबाट शरीरमा सहनै नसक्ने दुखाई तथा ज्वरो निम्तन्छ। नाडी तेज चल्न थाल्छ। बुबोनिक प्लेग सबैभन्दा पहिले मुसालाई हुन्छ।
मुसामा लाग्ने एक किसिमको किराले यस्तो प्लेग बोकेको हुन्छ र मुसा मरेपछि त्यस किरोमार्फत यस प्लेगको ब्याक्टेरिया मानव शरीरमा प्रवेश गर्छ। जब त्यस किराले मानिसलाई टोक्छ, तब उसले संक्रामक विष मानिसको रगतमा छोडिदिएको हुन्छ।
यसपछि मानिस संक्रमित हुन थाल्छ। मुसा मर्न सुरु भएको दुई वा तीन हप्तापछि मानिसमा प्लेग फैलन्छ। संसारभर २०१० देखि २०१५ सम्म बुबोनिक प्लेगका झन्डै ३ हजार २ सय ४८ वटा घटना देखिएका थिए। त्यसमध्ये ५ सय ८४ जनाको मृत्यु भयो। यी वर्षहरुमा धेरै घटना कंगो, मदागास्कर र पेरुमा देखिएको थियो।
१९७० देखि १९८० को दशकमा चीन, भारत, रुस, अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण अमेरिकी देशमा प्लेग फैलिएको थियो।
बुबोनिक प्लेगलाई नै छैटौं र आठौं शताब्दीमा प्लेग अफ जस्टिनियन भनिएको थियो, यस रोगका कारण त्यतिबेला संसारका २ करोड ५० लाखदेखि ५ करोड मानिसको ज्यान गएको थियो। बुबोनिक प्लेगको दोस्रो आक्रमण १३४७ मा भयो।
यसलाई त्यतिबेला ब्ल्याक डेथ भनिएको थियो। यस क्रममा युरोपको एक तिहाई जनसंख्या समाप्त भयो। बुबोनिक प्लेगको तेस्रो हमला १८९४ को आपपास भएको थियो। तब यसले ८० हजार मानिसको ज्यान लियो। यसको धेरै असर हङकङ आसपास देखिएको थियो। भारतमा १९९४ मा पाँच राज्यमा बुबोनिक प्लेगका झन्डै ७ सय केस देखिएका थिए। जसमध्ये ५२ जनाको मृत्यु भएको थियो। एजन्सी


























