चितवन, असार ३१ । मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवनका अस्पतालहरुमा वार्षिक १५ लाखभन्दा बढीले सेवा लिने गरेको पाइएको छ। यहाँका सरकारी, निजी र सामुदायिक अस्पतालहरुमा जिल्ला र अन्य ठाउँबाट गरी ठूलो सङ्ख्यामा बिरामी आउने गरेका छन्। स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार गत वर्ष अस्पतालहरुबाट आठ लाख ५३ हजार ४१० जनाले बहिरङ्ग सेवा लिएका छन्। यसका अतिरिक्त विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक लाख २५ हजार ४१ जनाले सेवा लिएका छन्। भरतपुर आँखा अस्पताल र यसका शाखाबाट गत वर्ष दुई लाख आठ हजार ६४० जनाले सेवा लिएका छन्। निजी क्लिनिकहरुमा दुई लाखभन्दा बढीले सेवा लिएको अनुमान छ।
जिल्लाका ३० वटा अस्पतालमा बिरामीको उपचार गरिँदै आएको छ। तीमध्ये प्रसूति सेवा दिने अस्पतालहरुबाट गत वर्ष १७ हजार चार सय २२ जनाले सेवा लिएका छन्। आकस्मिक सेवा र क्लिनिकहरुबाट सेवा लिनेहरुको यकिन तथ्याङ्क छैन। तर जिल्लाका सबै अस्पतालमा गरी आकस्मिकमा एक लाखभन्दा बढीले सेवा लिने गरेको चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.हरिश्चन्द्र न्यौपाने बताए। उनका अनुसार भरतपुर अस्पतालमा दैनिक एक सय, चितवन मेडिकल कलेजमा ७५, कलेज अफ मेडिकल साइन्सेसमा ५० र अन्य अस्पतालहरुमा ५० को हाराहारीले आकस्मिक सेवा लिने गरेका छन्।
निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारी गाउँगाउँमा क्लिनिकमा धेरै बिरामीले सेवा लिने गरेको बताए। उनको अनुमानमा दैनिक सरदर ६ सय बिरामीले क्लिनिकबाट सेवा लिने गरेका छन्। जसलाई हेर्दा वार्षिक दुई लाख बढी हुन आउँछ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा चारवटा सरकारी अस्पताल, एउटा विशेषज्ञ क्यान्सर अस्पताल, एउटा सामुदायिक आँखा अस्पताल, दुई मेडिकल कलेज र २१ वटा निजी अस्पताल रहेका छन्। यसका अतिरिक्त तीन प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, चार आधारभूत आकस्मिक प्रसूति सेवा र २३ वटा प्रसूति केन्द्र रहेका छन्।
जिल्लाका अस्पतालमा ३८६ विशेषज्ञ चिकित्सक, १७९ मेडिकल अधिकृत र एक हजार २६७ स्टाफनर्स कार्यरत रहेको तथ्याङ्क छ। भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार त्यहाँ विशेषज्ञ चिकित्सक र आवासीय चिकित्सक गरी १४, नेत्र अधिकृत र सहायक ३२, नर्सिङ र आँखा उपचारमा तालीम प्राप्तहरु १५ जना कार्यरत छन्।
चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा.प्रकाश खतिवडाका अनुसार सङ्घमा ३९७ सदस्य छन्। सदस्यता नलिएकासहित चिकित्सकको सङ्ख्या पाँच सयभन्दा बढी रहेको उनको भनाइ छ।
जिल्लामा सबैभन्दा बढी भरतपुर अस्पतालमा बिरामीले सेवा लिने गरेको तथ्याङ्क छ। अस्पतालको तथ्याङ्कअनुसार देशका १९ जिल्लाका बिरामीले यहाँबाट सेवा लिने गरेका छन्। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत वर्ष बहिरङ्ग सेवामा दुइ लाख ८० हजार २३३, आकस्मिकमा ३५ हजार ८३४ र भर्ना बिरामी ६० हजार ८५२ रहेका थिए।
जिल्लाका अस्पतालमा दुई हजार ८८५ श्यया क्षमता छ। जसमध्ये १९१ सघन र ६४ भेन्टिलेटर छन्। ती अस्पतालले अहिले ३२२ श्यया आइसोलेशन सञ्चालन गरिरहेको तिवारीले जानकारी दिए। जिल्लामा सबैभन्दा ठूलो सरकारी अस्पताल भरतपुर हो भने प्रदेश र स्थानीय तहका बकुलहर, बघौडा र राप्ती अस्पताल छन्। बकुलहर प्रदेशस्तरीय हुँदैछ भने बघौडा र राप्ती स्थानीय तहको १५ श्ययाको अस्पताल हुन्। बकुलहर हाल १५ श्ययाको भए पनि ५० श्ययाको हुने तिवारीले जानकारी दिए।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.श्रीराम तिवारी अस्पताल सङ्घीय बनेसँगै अन्य अस्पतालको नेतृत्व लिने अवस्थामा पुगेको दावी गर्नुभयो। कोभिड–१९ मा भरतपुर अस्पतालको नेतृत्वमा उपचार भइरहेको छ। अस्पतालमा गत वर्ष प्रसूतिमा मात्रै १३ हजार ५४५ ले सेवा लिएका थिए। काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी सेवा लिने भरतपुर अस्पताल हो।
तिवारी छिमेकी जिल्लाहरुबाट विशेषज्ञ सेवा यहाँ पाइने भएकाले बिरामी उपचारका लागि आउने गरेको बताए। यहाँ अस्पताल धेरै भएकाले एक ठाउँमा उपचार नभए अन्यमा हुने भएकाले पनि बिरामीको रोजाइ चितवन पर्ने गरेको छ। रासस


























