स्याङ्जा, असार ३१ । स्याङ्जाको कालीगण्डकी गाँउपालिका–४ बिर्घास्थित खहरेमा गएको पहिरोमा पुरिएर ज्यान जानेको संख्या ३ पुगेको छ। मृत्यु हुनेमा साविक बिर्घा गाविसका पूर्वअध्यक्ष ७० वर्षीय इमानसिंह राना, ६० वर्षका जिमानसिंह थापा, वर्ष ५० टिकाबहादुर थापा हुन्।
पूर्वअध्यक्ष रानाको घटनास्थलमैै मृत्युभएको थियो भने बेपत्ता २ जनाको मंगलबार साँझ मात्र शव भेटिएको थियो। बेपत्ता ६५ वर्षीय प्रेमचन्द्र पाण्डेको बुधबार बिहानदेखि खोजीकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।
पहिरामा परी घाइते हुनेमा ६८ वर्षीय होमनाथ पाण्डे ९किसान० र ५५ वर्षीय वीरबहादुर रानाको पाल्पा स्थित मिसन हस्पिटलमा उपचार भइरहेको छ। घाइते उनीहरुको बिर्घा प्राथमिक स्वास्थ्यचौकीमा उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरी उपरीक्षक बिमलराज कणेलले जानकारी दिए। नेपाली सेना, शसस्त्र तथा जनपद प्रहरी लगायत स्थानीयबासीले एक्जाभेटरको प्रयोग गरी खोजी गरिरहेका छन्।
पहिराका कारण जोखिममा रहेका ४ घरका २३ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको पालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए। स्थानीय वीरबहादुर राना, देव बहादुर थापा, जिमानसिंह राना र तिलीसरा थापाको परिवार विस्थापित भएका हुन्।
खहरेले धार परिवर्तन गर्दा उनीहरुको घर जोखिममा परेको बताइएको छ। बस्तीमाथि आएको पहिरो अनुगमन तथा खानेपानी बनाउनका लागि पुगेका उनीहरु ६ जना माथिबाट खसेको पहिरामा परेका थिए।


























