काठमाडौं, असार २९ । नेपाल आयल निगमले चालू आर्थिक वर्षमा ६ अर्ब भन्दा बढी खुद नाफा आर्जन गरेको छ।
पेट्रोलियम खरिद, ढुवानी, सरकारको कर तथा सबै खर्च कटाएर निगमको चालू आर्थिक वर्षमा नाफा आर्जन हुने प्रक्षेपण गरिएको निगमले जनाएको छ।
कुल कारोबारमा भारतीय रुपैयाँको भुक्तानी, सरकारले उठाएको विभिन्न शीर्षकको कर, प्रशासनिक खर्च, ढुवानी र बिमा खर्च कटाएर सो बराबरको नाफा हुने निगमको प्रक्षेपण छ।
नाफाको २५ प्रतिशत आयाकर सरकारलाई बुझाउँदा करिब ४ अर्ब घटेर निगमको खुद नाफा ६ अर्ब भन्दा माथि हुने निगमको अनुमान छ।
गत शुक्रबारको मूल्य समायोजनपछि निगमलाई सामान्य घाटा भएपनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा ग्यासमा भएको नाफाले निगमले नाफा कमाएको हो।
पेट्रोलियम पदार्थ खरिद गर्दा चालू आर्थिक वर्षमा निगमले डेढ खर्ब रुपैयाँ भारतीय आयल कर्पोरेसनलाई बुझाएको छ।
यो वर्ष करिब २४० अर्बको पेट्रोलियम कारोबार गरेको निगमले भारतीय आयल कर्पोरेसनलाई मात्रै एक खर्ब ४७ अर्ब रुपैयाँ भुक्तानी गरेको जनाएको छ। गत वर्ष निगमले एक खर्ब ९३ अर्ब रुपैयाँ आईओसीलाई भुक्तानी गरेको थियो।
आर्थिक वर्षको सुरुवाती दिनमा डलरको मूल्य एक बराबर ११० दशमलव एक पैसा हुँदा प्रतिब्यारेल ६४ रुपैयाँ ८८ सेन्ट डलरमा किन्न थालेको पेट्रोलियम पदार्थ आर्थिक वर्षको अन्तिममा १ सय २१ रुपैयाँ ३६ पैसा डलरको भाउ हुँदा प्रतिब्यारेल ४० दशमलव ८४ सेन्ट डलरमा खरिद गरेको निगमको भनाइ छ।
अघिल्लो वर्षको तुलनामा लकडाउनका कारण पेट्रोलियम आयात झण्डै २० प्रतिशतले खुम्चीएको पनि निगमले जनाएको छ।


























