चितवन, ,असार २६ । बुधबारदेखि परेको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी पहिरोको प्रकोपले धेरै जनधनको क्षति भए पनि चितवन शान्त छ। चितवन जिल्ला भएर बग्ने नारायणी र राप्ती नदीमा पानीको बहाव बढे पनि खतराको विन्दुभन्दा तलै रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्लामा अहिलेसम्म बाढी पहिरोले असर नपारेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। ‘अहिलेसम्म कहीँ दुःखद घटना भएको छैन, तर सतर्क रहन भने हामीले सबैलाई आग्रह गरेका छौँ,’ उनले भने।

माडी र राप्ती नदीमा पानीको बहाव केही बढे पनि क्षेति पुर्याउने खालको नभएको उनले बताए। तर, यी नदीको दुरी लामो भएकोले पानी पर्न रोके पनि बाढी आउन सक्ने हुँदा सतर्क रहन सबैलाई आग्रह गरिएको उनले बताए। माडी क्षेत्रमा भने खहरे खोलाका कारण वर्षेनि डुबानको समस्या हुने गर्दछ। यसवर्ष पनि केही घरमा पानी पसेको भन्ने जानकारी पाएको उनले बताए। ‘हामीले जिल्लाभरको गतिविधि नियालिरहेका छौँ,’ उनले भने, ‘तर, अहिलेसम्म चितवनमा कुनै समस्या छैन।’

कतै समस्या परेमा तत्काल प्रहरीलाई खबर गर्न पनि उनले आग्रह गरे। बाढी पहिराेकाे जाेखिम बढ्दै गएकाेले जाेखिमयुक्त स्थानहरुमा नजान पनि प्रहरीले आग्रह गरेकाे छ। ‘खाेलानालाकाे छेउछाउ र पहिराे खस्न सक्ने ठाउँबाट टाढै रहनुहाेला,’ प्रवक्ता थापाले भने।
तस्बिर स्राेतः चन्दन अग्रवाल/युवा व्यवसायी




























