चितवन । गैँडाकोट नगरपालिकामा गरिमा धानमा बाला नलागेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ। कृषि मन्त्रालयमार्फत विनियोजित रकम सो नगरपालिकाले किसानलाई प्रदान गरेको हो। गैँडाकोटका किसानलाई प्रतिकट्ठा रु ६४० का दरले क्षतिपूर्ति रकम उपलब्ध गराइएको गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले जानकारी दिए। नगरपालिकाको १० देखि १८ नं वडाका किसान गरिमा धानमा बाला नलागेपछि पीडित बनेका थिए। नगरपालिकाले प्रतिकठ्ठा छ हजार रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरेको थियो।
केही नहुनुभन्दा थोरै भए पनि किसानलाई राहत भएको उनले बताए। यस वर्षदेखि माटो परीक्षणको व्यवस्था मिलाउने पनि उनले बताए। गत वर्ष नेपालमा गरिमा जातको धान नवलपुर, चितवन, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, तनहुँ जिल्लामा बढी लगाइएको थियो। वडा नं १२ का वडाध्यक्ष वीरबहादुर थनेत, वडा नं ११ का वडाध्यक्ष गोविन्द सुवेदी, वडा नं १३ का वडाध्यक्ष पदमलाल पौडेल र वडा नं १० का वडा सदस्य कृष्णप्रसाद सापकोटालगायतको सहभागिता थियो। – रासस


























