काठमाडौं, असार २२ । नेपाल–चीन रसुवागढी नाका सोमबारबाट सञ्चालनमा आएको छ। कोरोना भाइरस संक्रमणका कारण ६ महिनासम्म बन्द नाका सञ्चालनमा आएको हो।
चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइपुर्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए।
दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनेपछि नाका खुल्ने निश्चित भएको थियो। बन्द भएको ६ महिना ८ दिनपछि नाकाबाट एकतर्फी ब्यापार सुरु भएको खड्काले बताए।
नेपालबाट हुने निकासी र मानवीय ओहोर–दोहोर भने कोरोना संक्रमण कम हुँदै गएपछि खोल्ने अनौपचारिक सहमति बनेको जनाएको छ।
सोमबार चीनतर्फ लामो समयदेखि रोकिएको रेडिमेट गार्मेन्टहरु नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ।
नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १२० टन सामग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ।
नेपालतर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपालीहरू नै परिचालित हुने र त्यसका लागि १५ जना चालक र १५ जना लोडरी गरी ३० जना जनशक्ति चीनतर्फ पठाइएको पनि भन्सार कार्यालयले जनाएको छ।
चीनतर्फ पठाइएका सबैको कोरोना परिक्षण गरिएको र उनीहरूको पीसीआर नतिजा नेगेटिभ छ। चीन गएकाहरू चिनियाँको सम्पर्कमा नरहने र होटल क्वारेन्टिनमा बसेर काम गर्ने सहमति भएको छ।
मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याइने भन्सार कार्यालयले जनाएको छ। व्यवसायीहरू तीनतर्फ जान नपाउने र रसुवागढीसम्म जानका लागि पनि रसुवा जिल्ला प्रशासनको पास अनिवार्य गरिएको छ।


























