काठमाडौं, असार २१ । नेपाल आउनै लागेका सलहका दुई झुन्डले वायुचापका कारण दक्षिणतर्फ धकेलिएपछि नेपालमा तत्कालका लागि सलहको नयाँ झुन्ड प्रवेशको खतरा टरेको छ। नेपालको सीमाबाट सबैभन्दा नजिक रहेको सलहको झुन्ड उत्तर प्रदेशको चौराह तेसिलमा छन् जनु मध्यप्रदेशको सीमामा पर्छ ।
चौराह भैरहवाबाट ५ सय ७८ किलोमिटर टाढा पर्छ। सो स्थानमा करिब ७० हेक्टरमा रहेका सलहका अपरिपक्व वयस्क छन्।
अहिले सो झुन्ड दक्षिणतर्फ यात्रा गरिरहेको अनुमान गरिएको छ। जसकारण नेपालमा तत्काले सलहको अर्को झुन्ड प्रवेश नगर्ने पक्का जस्तो भएको हो। हावाको दिशा पनि पूर्वी वहाव चलेकाले ती झुन्ड पश्चिमतर्फ धकेलिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले बताए। उनले भने, “सलहका नयाँ झुन्ड २–४ दिन नेपाल आउँदैनन्।”
यसो त राजस्थानमा सलहका थुप्रै झुन्ड छन्। नेपाल आउनै लागेका दुई झुन्ड सलह शुक्रबार सीमाबाट पर धकेलिएका थिए। र, अहिले हावको बहावले ती झुन्ड दिल्ली–राजस्थानतर्फ जाने देखिएको छ। यसो त यसअघि नेपाल प्रवेश गरेका सलह निष्क्रिय भइसकेका छन्।


























