उत्तरप्रदेश, असार १९ । भारतको उत्तरप्रदेशको कानपुरमा हतियारधारीको आक्रमणमा परी आठ प्रहरीको मृत्यु भएको छ।
प्रहरीको खोजी सूचीमा रहेका विकास दुवेलाई पक्रन गएको प्रहरी टोलीमाथि गोली प्रहार हुँदा डीएसपी देवेन्द्र मिश्रासहित आठ जना प्रहरीको मृत्यु भएको भारतीय सञ्चार माध्यले जनाएका छन्।
विकास दुवेको समूहले प्रहरीलाई घेरा हालेर अन्धाधुन्द गोली प्रहार गरेको जनाइएको छ।
आक्रमणकारीहरुले प्रहरीको हतियार समेत लुटेका छन्। घटनामा विकास दुवे समूहका तीनजना पनि मारिएका प्रहरीले जनाएको छ।
विकास दुवेविरुद्ध कानपुरमा राहुल तिवारीले हत्या प्रयासको मुद्दा दायर गरेका थिए । त्यपछि विकासलाई पक्राउ गर्न प्रहरी उनको गाउँ गएको थियो।
प्रहरीलाई रोक्न विकास देवेको गिरोहले सडकमा जेसिबी राखेको थियो। प्रहरी त्यहाँ पुगेलगत्तै फायरिंग सुरु भएको बताइएको छ।
घटनापछि प्रहरीले उत्तरप्रदेशको सबै सीमा सिल गरेको छ। घाइते भएका प्रहरीलाई अस्पताल भर्ना गरिएको छ। एजेन्सी


























